एमाले भ्रष्टाचार गर्नका लागि राजनीति गर्ने पार्टी होइन: केपी ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले अरू जस्तो भ्रष्टाचार गर्नका लागि राजनीति गर्ने पार्टी नभएको जिकिर गरेका छन्।
बुटवलमा शनिबार लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनको सरकार भ्रष्टाचारमा डुबेको बताए। सरकार भ्रष्टाचार विरुद्धको अभियानको नाममा भ्रष्टाचार गरिरहेको आरोप लगाउँदै ओलीले भने, “दिन प्रतिदन क्विन्टलका क्विन्टल सुन भित्रिरहेको छ। सरकारमा भएकाहरूका नेता-कार्यकर्ता जोडिएपछि सबै घटना गुपचुप बनाइँदै छ।”
उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) वामपन्थीको खोल ओढेका दक्षिणपन्थी भएको बताए। “दक्षिणपन्थीसँग गठजोठ गरेर जनताको सरकार ढाले, अहिले आफूलाई राष्ट्रवादी हौं भन्दै हिंड्या छन्,” ओलीले भने।
एमाले सरकारबाट बाहिरिए यता देशमा विकासका सबै काम रोकिएको उनको भनाइ थियो। बरु भ्रष्टाचार बढेको ओलीले बताए।
एमालेसँग जोडिएका घटना भए छानबिन गर्न सरकारलाई बारम्बार भनिरहेको उनले बताए। “एमाले र एमालेका नेता त्यस्ता घटनामा जोडिएको भए पो छानबिन गरून्!,” ओलीले भने, “एमाले भ्रष्टाचार गर्नका लागि राजनीति गर्ने पार्टी होइन, जनताको सुशासन र विकासका लागि डटेर लाग्ने पार्टी हो। एमालेका नेता या कार्यकर्ता भ्रष्टाचारमा लागेको थाहा पाएमा कसैलाई छूट हुनेछैन।”
अहिले एमाले ‘मिसन–२०८४’ लागेको बताए। हरेक टोल टोलमा एमालेको संगठन र घर घरमा सदस्य अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष ओलीले एमाले लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्ग्याउनुपर्ने बताए। “मैले उपाध्यक्ष र महासचिवको कुरा पनि सुनें। केन्द्रीय कमिटीका १९ जना पदाधिकारीमा लुम्बिनी प्रदेशकै मात्र सात जना नेता हुनुहुन्छ। अनि यस्तो ठाउँमा किन विवाद आउनुपर्यो,” ओलीले भने, “तपाईंहरू आज बसेर सहमति गर्नुहोस्, म भोलि घोषणा गर्छु।”
लुम्बिनीमा नेतृत्वका लागि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको समूहबीच प्रतिस्पर्धा छ। दुवै समूहका नेता अध्यक्षको दाबेदार छन्।
त्यस्तै, उपाध्यक्ष पौडेलले आफ्नो गूट नभएको बताए। “जसरी मिडियामा म र महासचिवको गूट भनेर आइरहेछ, यो सबै भ्रम हो,” पौडेलले भने, “म र महासचिव पोखरेलबीच जुधाएर एमालेभित्र विवाद होस् भन्न चाहना राख्नेहरूको चाहना पानीको फोका जस्तै हुन्छ।”
एमाले महासचिव पोखरेलले आफू र उपाध्यक्ष पौडेलकै कारण एमाले बलियो भएकाले कुनै मतभेद नरहेको बताए। “जसरी मिडियामा समाचार आइरहेका छन्, सबै यी हल्ला मात्र हुन्,” पोखरेलले भने, “म र उपाध्यक्ष पौडेल सधैं एक ठाउँमा छौं।”
एमाले लुम्बिनी प्रदेशको अधिवेशन आइतबार सकिनेछ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।