लुम्बिनीमा विष्णु पौडेल र शंकर पोखरेलको समूह प्रतिस्पर्धामा
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षका लागि केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको समूह प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन्।
चितवनमा भएको दशौं राष्ट्रिय महाधिवेशनपछि एमालेले सातै प्रदेश अधिवेशन गर्न लागेको हो। लुम्बिनीबाट एमालेको प्रदेश अधिवेशनको शुरूआत भएको छ। दुई दिनसम्म चल्ने प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।
अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइरहेको एमाले प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले बताए। तर, तीन जना नेता दाबेदार रहेकाले चुनाव हुन सक्ने देखिएको छ।
एमाले लुम्बिनीका नेताहरू आआफ्नो समूह बनाएर शीर्ष नेतालाई भेट्ने, समूहगत भेला गरेर छलफल गर्ने जस्ता गतिविधि गरिरहेका छन्। लुम्बिनीमा एमाले मुख्य दुई समूहमा विभाजित छ। उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोख्रेलको समूहबीच प्रतिस्पर्धा हुने एमाले नेताहरू बताउँछन्।
केन्द्रीय सदस्य हरि रिजाल प्रदेश नेतृत्वका लागि प्रदेशको प्रतिनिधि भएर आएका छन्। उनी महासचिव शंकर पोखरेल निकट हुन्।
त्यस्तै, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल दोहोरिन खोजिरहेका छन्। कँडेल पार्टी उपाध्यक्ष पौडल निकट हुन्।
यसैगरी, प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यले पनि नेतृत्वको दाबी गरिरहेका छन्। अहिलेसम्म प्रदेश कमिटीको अध्यक्षमा रिजाल, कँडेल र आचार्य दाबी गरिरहेका छन्। तर, अन्तिममा रिजाल र कँडेलबीच प्रतिस्पर्धा हुने स्थानीय नेता बताउँछन्।
नेता रिजालले अध्यक्षमा दाबी गरेको बताए। उनले हिमालखबरसँगको संक्षिप्त कुराकानीमा भने, “अध्यक्षमा मेरो दाबी छ। कसैका लागि छोड्ने भन्ने हुँदैन, बरु निर्वाचनबाट आउने परिणामलाई स्वीकार गर्नेछु।”
कँडेलको भनाइ पनि त्यस्तै छ। हिमालखबरसँगको संक्षिप्त कुराकानीमा नेता कँडेलले प्रतिस्पर्धामा उत्रिने बताए। “चुनावबाट जेजस्तो परिणाम आउँछ, त्यसलाई स्विकार्छु,” कँडेलले भने।
एमाले नेताहरू भने सर्वसम्मत गर्ने प्रयासमा छन्। सचिव एवं लुम्बिनी प्रदेश कमिटी इन्चार्ज पद्मा अर्यालले निर्वाचन नगरी सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास भइरहेको बताइन्। “हाम्रो पार्टीमा गुट छैन, सिङ्गो एमाले छ, त्यसैले सर्वसम्मत नेतृत्व चयन गर्छाैं,” अर्यालले भनिन्, “नेता-कार्यकर्तालाई एकताको सन्देश दिन्छौं।”