बेथिति सच्याउने, सेटिङ भत्काउने लडाइँमा छौं: दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बेथिति सच्याउने र ठूल्ठूला सेटिङ भत्काउने लडाइँमा लागिरहेको बताएका छन्।
पार्टी मुख्यालय पेरिसडाँडाबाट शनिबार विशेष रूपान्तरण अभियान शुरू गर्दै अध्यक्ष दाहालले कतिपय गल्ती-कमजोरी रहे पनि इतिहासबाट पाठ सिक्दै माओवादी बलियो र क्रान्तिकारी पार्टी बन्ने बताए। माओवादी आन्दोलनसँग जनताको विशेष आत्मीयता, अपेक्षा र केही असन्तुष्टि रहेको उनको भनाइ थियो।
“सरकारले गरेका सुशासनमुखी कामबाट राजनीतिप्रति नै भरोसा जागेको छ, हामी वाचा गर्छौं- हाम्रा कदम अग्रगमनबाट विचलित हुनेछैनन्, जनताले देखेका सपना, जनताका अपेक्षा पूरा गर्ने दिशामा हाम्रो राजनीति र हाम्रो संगठन गतिशील हुनेछ,” दाहालले भने।
अभियानका क्रममा सबै जनताका घरमा पुग्ने योजना निर्माण गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताका कुरा सुन्ने तथा सुझाव र आलोचना ग्रहण गरिने बताए। हिजोका दिनमा अत्यन्तै संघर्षका कठिन क्षणमा माओवादीलाई जनसमुदायले विश्वास गरेर साथ दिएकै कारणले आन्दोलनले सफलता प्राप्त गरेको उनको भनाइ थियो।
“तर, बिर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनको पक्षमा छन्, जनता समृद्धि र सुशासन चाहन्छन्,” दाहालले भने, “नेपाली समाजको परिवर्तन र रूपान्तरण केवल माओवादीले मात्रै गर्न सक्छ। माओवादीकै नेतृत्वमा मात्रै समृद्ध नेपाल सम्भव छ भन्ने विश्वास जनतालाई दिलाउनुपर्छ, जनतासँग हामीले भन्न सक्नुपर्छ- हाम्रा गल्ती-कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौं, हामी सुध्रिन चाहन्छौं, त्यसका लागि अभियान सहित तपाईंहरूको घरदैलोमा छौं।”
अबको लडाइँ स्थायित्व, समृद्धि र विकासका निम्ति केन्द्रित भएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम तथा सेवा प्रवाहमा सुधारको थालनी गरेको दाबी गरे। “यहाँ बेथितिको डङ्गुर छ, कुशासनका चाङ छन्, ठूल्ठूला सेटिङ छन्। यी बेथिति सच्याउने, सेटिङ भत्काउने र देशलाई साँच्चै नै सुसंस्कृत, सभ्य र समृद्ध बनाउने लडाइँमा छौं,” दाहालले भने, “सरकारको नेतृत्वको नाताले मैले यो चुनौती स्वीकार गरेको छु। अब यसलाई गन्तव्यमा पुर्याउन सोही अनुरूपको बलियो र क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता छ।”
अभियानका क्रममा सुशासन, सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच र सामाजिक न्याय सहितको विकासका लागि जोड दिन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले स्थानीय तहमा समेत जनतासँग जोडिएका सुशासन, सामाजिक न्याय र विकासका काममा पार्टीले विशेष चासो दिन जरुरी रहेको बताए।
“माओवादीको संघर्षको फलस्वरूप केन्द्रीकृत राज्यसत्ता विकेन्द्रित भई संघीयता कार्यान्वयनको तहमा गएको छ, तर स्थानीय तह र प्रदेशले जनताको अपेक्षा अनुरूप जनताका मुद्दाको सम्बोधन गर्न, सुशासन तथा सामाजिक न्याय कायम गर्न र विकास निर्माणका काम अघि बढाउन सकेनन् भने यसको बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्ने तत्त्वले टाउको उठाउने मौका पाउनेछन्,” दाहालले भने।
आजबाट शुरू भएको माओवादीको विशेष अभियान तीन महीनासम्म चल्नेछ। अभियानका क्रममा माओवादी नेताहरू गाउँ गाउँ पुग्ने कार्यक्रम तय गरिएको छ।