चुच्चे नक्शालाई छिमेकीहरूले कदर गर्नुपर्छ: परराष्ट्र मन्त्रालय
नेपालले तीन वर्षअघि जारी गरेको लिम्पियाधुरा सहितको नक्शालाई छिमेकी लगायत अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नेमा विश्वस्त रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
चीनले भदौ ११ मा जारी गरेको आफ्नो नक्शामा नेपालको पुरानै नक्शा राखेको विषयमा विरोध भइरहेका वेला शुक्रबार नेपालले परराष्ट्र मन्त्रालय मार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो। २०७७ जेठमा नेपाल सरकारले जारी गरेर संसद्बाट सर्वसम्मत रूपमा अनुमोदन भएको राजनीतिक तथा प्रशासनिक नक्शाको पक्षमा नेपाल दृढ र स्पष्ट रहेको मन्त्रालयले उल्लेख गरेको छ।
मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सीमा विवाद संवाद र कूटनीतिक पहल मार्फत समाधान गर्न नेपाल प्रतिबद्ध रहेको जनाएकी छन्।
सन् १८१६ को सुगौली सन्धि लगायत प्रमाण तथा तथ्यहरूका आधारमा नेपालले २०७७ जेठमा चुच्चे नक्शा सार्वजनिक गरेको थियो। चीनको पछिल्लो नक्शामा चुच्चे नक्शा नपरेपछि यसको विरोध भएको हो।