काठमाडौं-कलिंग साहित्य महोत्सव शुरू
काठमाडौं-कलिंग साहित्य महोत्सव शुक्रबारदेखि ललितपुरमा शुरू भएको छ।
यशस्वी प्रज्ञा-प्रतिष्ठान नेपाल र कलिंग साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा शुरू भएको महोत्सव तीन दिनसम्म चल्नेछ। महोत्सवको उद्घाटन गर्दै परराष्ट्र मन्त्री एनपी साउदले महोत्सवले दक्षिण एशियाको संस्कृति आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
“पाललाई केन्द्र बनाएर काठमाडौंमा महोत्सव आयोजना हुनु हाम्रा लागि सुखद पक्ष हो। काठमाडौंसँग बनारस, जनकपुरलाई अयोध्यासँग, विराटनगरलाई कुरुक्षेत्र हस्तिनापुरसँग जोड्न सकेनौं भने हामी अधुरो हुन्छौं,” उनले भने, “संस्कृति र भाषाका कारण हामी एकअर्कासँग जोडिएका छौं। हाम्रो समानता संस्कृत भाषा हो।”
काठमाडौं केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञा-प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको बताइन्। “महोत्सव दक्षिणएशियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले शुरू गरिएको हो,” निरौलाले भनिन्, “पहिलो संस्करण झैं दोस्रो संस्करणमा पनि नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराबारे विश्लेषण गर्दै नेपाललाई विश्वसामु प्रतिविम्बित गर्ने विषयवस्तुबारे छलफल गर्नेछौं।”
उद्घाटन समारोहमा यशस्वी साहित्य सम्मानबाट प्राध्यापक अवधेश प्रधान, अभिनेत्री तथा लेखिका दिव्या दत्ता, प्राध्यापक माधवप्रसाद पोखरेल र अभिनेत्री मनीषा कोइरालालाई सम्मान गरिएको छ।
यसै वर्षबाट शुरू गरिएको यशस्वी पुस्तक पुरस्कारबाट आख्यानतर्फ लेखक विवेक ओझा (ऐंठन), सिर्जनात्मक गैरआख्यानतर्फ डा. नवराज केसी (शून्यको मूल्य), कथातर्फ रेनुका जीसी (सनेश), कवितातर्फ डा. महेन्द्र मल्ल (भाषाको बकपत्र), जीवनीतर्फ गोविन्द गिरी ‘प्रेरणा’ (सुश्री पारिजात), बाल साहित्यतर्फ अनुराधा (छमछमको छमछमी), अनुवादतर्फ रिमा केसी (अमृता प्रितमका छानिएका कविता), खाद्य तथा औषधितर्फ नारायण घिमिरे (रैथाने खानपान र चाडपर्व), आत्मकथातर्फ लाक्पा डेन्डी शेर्पा (हिमालय म्याभरिक), अंग्रेजी कवितातर्फ सुशान्त थापा (मिन्स अफ मेरिड)लाई पुरस्कृत गरिएको छ।
महोत्सवमा नेपाल सहित भारत, भूटान, बाङ्लादेश र श्रीलंकाका लेखक, साहित्यकार तथा कलाकार सहभागी छन्।