नक्शाबारे प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन्छ: प्रवक्ता सापकोटा
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्शाबारे कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन्।
माओवादी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा नक्शाका विषयमा छलफल हुने बताए।
“चीनले जारी गरेको नक्शाबारे कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ। कूटनीतिक पहलकदमी बढाउनुपर्छ,” प्रवक्ता सापकोटाले भने, “प्रधानमन्त्रीको चीन भ्रमणका वेलामा कुराकानी हुन्छ।”
नक्शा जस्तो महत्त्वपूर्ण विषयलाई किन समेटिएन भन्नेबारे कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उनको भनाइ छ।