विश्वकप छनोटमा नेपाल २.५ ओभरमै विजयी
आईसीसी महिला टी-२० विश्वकप एशिया छनोट अन्तर्गत शुक्रबार बहराइनसँग भएको खेलमा नेपाल १० विकेटले विजयी भएको छ।
मलेशियाको क्वालालम्पुरमा शुक्रबार भएको खेलमा बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २.५ ओभरै पूरा गरेको हो।
नेपालका लागि प्रारम्भिक ब्याटरद्वय कविता कुँवरले १७ र सीता राना मगरले दुई रन बनाए। नेपालले १३ वटा अतिरिक्त रन पाएको हो।
यसअघि ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रनमै समेटियो। बहराइनका लागि दीपिका रशंगिकाले ११ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि इन्दु बर्माले तीन, खुशी डंगोलले दुई, कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले एक-एक विकेट लिए।
यसअघि नेपालले मलेशियालाई पराजित गरेको थियो। यो जितसँगै नेपालले चार अङ्क जोडेको छ।
समूह ‘ए’ मा रहेको नेपालले अब यूएई, कतार र भूटानसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, समूह ‘ख’ मा हङकङ, थाइल्यान्ड, कुवेत, चीन र म्यानमार छन्।
प्रतियोगिताका शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोट खेल्न पाउनेछन्।