चीनको पोखरा साइनो
चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले पोखरा भ्रमण गरेसँगै जोडिएको साइनो अहिले चीनका विभिन्न शहरसँग भगिनी सम्बन्ध गासिँदै मजबूत बनिरहेको छ।
नयाँ विमानस्थल चीन र नेपालबीचको साँचो प्रेम र आपसी सहयोगको साक्षी दिने मित्रता परियोजना हो।
गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले विमानस्थलले विशेष गरेर पोखराको विकासमा सहयोग पुग्ने बताए।
त्यस्तै, गत असार ८ मा फेवा तालमा ‘नेपाल-चाइना ड्रागन बोट रेस’ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको उल्लेख गरे। उनले भने, “ड्रागन बोट रेस लगायत कार्यक्रमले दुई देश तथा जनस्तरमा रहको सम्बन्ध सुमधुर हुनुका साथै नेपालको विशेष गरेर पोखराको पर्यटन प्रर्वद्धन गर्न सघाउ पुग्नेछ।”
चिनियाँ राजदूतले भने झैं नेपाल र चीनको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध वर्षौं पुरानो त छ नै, अझ चीनको पोखरासँगको सम्बन्ध भने विशेष छ। नेपालका अन्य शहरभन्दा चीनको पोखरेली साइनो पुरानो र विशेष छ। पछिल्लो ‘नेपाल-चाइना ड्रागन बोट रेस’ प्रतियोगिताका लागि चिनियाँ टोली विमान चार्टर्ड गरेरै पोखरा ओर्लिएको थियो, फेवा तालमा तैरिन। चिनियाँ पर्यटकको रोजाइमा पोखरा त पर्छ नै, अझ फेवा तालमा डुङ्गा खियाउन भनेपछि हुरुक्कै हुन्छन्।
पोखरा विशेष गरेर फेवा तालसँग चिनियाँको साइनो भने झन्डै ६ दशकअघि जोडिएको थियो। चीनका प्रधानमन्त्री चाउ एन लाईको पोखरा भ्रमण नै चीन-पोखरा सम्बन्धको शुरूआत भएको कूटनीतिज्ञहरू बताउँछन्। २०१७ सालमा नेपाल भ्रमणमा आएका चिनियाँ प्रधानमन्त्री चाउलाई तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले माछापुच्छ्रे हिमाल लगायत लोभलाग्दा हिमशृङ्खला देखाउन तथा नेपाल-चीन सम्बन्धलाई प्रगाढ बनाउनेबारे छलफल थाल्न पनि पोखरा ल्याएका थिए।
पहिलो पटक पोखरा आएका चिनियाँ प्रधानमन्त्री चाउले पोखराको फेवा तालमा डेढ घण्टा डुङ्गा शयर गर्दा मन्त्रमुग्ध भएर पोखराको सुन्दरताको बयान गरेको बताइन्छ। उति वेला नै चाउको आँखामा परेको पोखरा पछि गएर चिनियाँ नागरिकको प्रिय शहर बन्न पुगेको छ। अझ फेवा तालमा डुङ्गा शयर गर्ने पर्यटकहरू लालायित नै हुन्छन्।
शुरूआतमा चीनले पोखरालाई केन्द्रबिन्दु बनाउन खोजेको नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी बताउँछन्। चिनियाँ प्रधानमन्त्री चाउको भ्रमणले त्यसमा सहयोग पुगेको मुल्मी सुनाउँछन्। उनी भन्छन्, “पोखरालाई केन्द्रबिन्दु बनाएर कोरला नाकासम्मको क्षेत्र चीनको स्वार्थ थियो। सोही योजनालाई अघि बढाउन काठमाडौं-पोखरा सडक निर्माण भयो।”
यसका लागि पोखरासँग तिब्बतको सम्बन्धले पनि भूमिका खेलकोे थियो। २०१५ चैतमा चीनबाट निर्वासित भएर भारत प्रस्थान गर्ने क्रममा तिब्बती धर्मगुरु दलाई लामा र उनीसँग आएका तिब्बतियन नागरिक पोखराको बाटो हुँदै भारत गएका थिए। तिब्बतबाट आएका शरणार्थीलाई रेडक्रसले पोखराका तीन ठाउँ छोरेपाटन, हेम्जा र पृथ्वीचोक तथा तनहुँको दुलेगौंडामा क्याम्प बनाएर राखेको थियो। त्यसकारण पनि चीनको ध्यान पोखरा शहरमा गएको मानिन्छ।
त्यस्तै, पछिल्लो पटक पोखराको चीनका विभिन्न आठ शहरसँग जोडिएको भगिनी सम्बन्धले पनि त्यसमा सघाउ पुगेको छ। पोखरा महानगरपालिकाले २०६५ असोज १५ मा पहिलो पटक चीनको लिंजी शहरसँग भगिनी सम्बन्ध स्थापना गर्यो। हालसम्म पोखराले कुनमिङ, गोन्जाओ, इविन, छुसाओ, हाइकाओ, नानिङ र गान्जी शहरसँग भगिनी सम्बन्ध विस्तार गरिसकेको छ।
सांस्कृतिक, शैक्षिक, आर्थिक लगायत विषयमा अनुभव आदानप्रदानको उद्देश्यले कायम भगिनी सम्बन्धबाट दुवै देशका शहरले फाइदा लिन सक्छन्। दिदीबहिनी शहरका रूपमा लिइने भगिनी सम्बन्ध भएका चीनका शहरबाट मेयर र उपमेयर पोखरा भ्रमणमा आउने तथा पोखराका मेयर र उपमेयर पनि चिनियाँ शहरमा पुग्ने क्रम जारी छ।
पोखरामा चीनको लगानी
चीनले शुरूआतमा पोखरामा मुख्यगरी तीन क्षेत्रका परियोजनामा काम गरेको थियो। ती हुन्- सडक, सिंचाइ र जलविद्युत्। त्यसो त भारतले पनि यी तीन क्षेत्रमा पोखरामा परियोजनाको विस्तार गर्दै आएको थियो। शुरूआतमा चीनले पोखरालाई केन्द्रबिन्दु बनाउन खोजेको बताउँदै उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुल्मीले भन्छन्, “कालान्तरमा चीनले चाहेको जस्तो हुन सकेन।”
काठमाडौं-कोदारी सडक आयोजनासँगै चीनले २०२३/२४ सालमा काठमाडौं-पोखरा सडकको निर्माण गरेको थियो। जसका लागि चीनले आफ्ना सामान नेपाललाई बेचेर त्यसबाट आएको रकम काठमाडौं-पोखरा सडक आयोजनामा लगानी गरेको थियो। आर्थिक रूपले चीन सबल बन्दै गएपछि आफ्नै लगानीमा नेपालमा परियोजनाहरू ल्यायो। काठमाडौं-पोखरा सडक निर्माणपछि चीनले पोखरा-बाग्लुङ सडक निर्माण गर्यो।
सडक निर्माणपछि चीनले पोखरामा सेती सिंचाइ आयोजनामा सहयोग गर्यो। २०३७ सालमा शुरू भएको सेती सिंचाइ आयोजनामा चीनले नै आर्थिकसँगै प्राविधिक सहयोग गरेको थियो। त्यही आयोजनामा पोखराको नारायणस्थानमा ५०० किलोवाटको तीन टर्वाइनबाट एक हजार ५०० किलोवाट क्षमताको विद्युत्गृह पनि निर्माण गरिएको थियो।
यो आयोजनापछि चीनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका लागि २२ अर्ब ऋण प्रदान गरेको हो। जसबाट अहिले विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ।
विमानस्थल निर्माण भए पनि पोखराले नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन। गत असार ६ गते ‘ड्रागन बोट फेस्टिभल’ का लागि चीनको पर्यटकीय शहर छेन्दुबाट सिचुवान एअरलाइन्सको जहाजमा १३० यात्रु सहित पहिलो पटक अन्तर्राष्ट्रिय उडान पोखरामा अवतरण भएको थियो।
पछिल्लो समय चीन सरकारले फाट्टफुट्ट ससाना योजना र कार्यक्रम मात्र ल्याएको व्यवसायी मुल्मी सुनाउँछन्। पूर्वाधारका काममा असल छाप छाडेको चीनले पछिल्लो योजनामा ढिलासुस्ती गरिरहेको गुनासो पनि आउन थालेको छ। पोखरा-मुग्लिन सडकखण्ड निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ कम्पनीले ढिलाइ गरेपछि चीनप्रतिको विश्वसनीयतामा कमी आएको उनको मूल्याङ्कन छ।
चिनियाँ पर्यटक र पोखरा
पछिल्लो समय पोखरा चिनियाँ पर्यटकका लागि हब बनेको छ। कोभिड-१९ ले गर्दा असर परेको पर्यटन व्यवसायमा पोखरामा भएका चिनियाँ पर्यटक केन्द्रित गतिविधिले सहयोग पुग्ने आशा गरिएको छ।
पोखरामा चिनियाँ नागरिकले ससाना लगानीमा व्यापार-व्यवसाय पनि सञ्चालन गरिरहेका छन्। विशेषतः पोखरा आउने चिनियाँ पर्यटकका लागि चिनियाँ रेस्टुरेन्ट खोलिएका छन्। पोखरा रेस्टुरेन्ट एन्ड बार एशोसिएशन (रेबान)को तथ्याङ्क अनुसार कोभिडअघिसम्म पोखरामा १४ वटा चिनियाँ रेस्टुरेन्ट थिए। अहिले चिनियाँ पर्यटकको संख्यामा आएको कमीले आधा मात्रै सञ्चालनमा छन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ चीनका शहरबाट पोखरामा नियमित हवाई उडान हुने हो भने पर्यटकको संख्यामा वृद्धि हुने बताउँछन्। यसका लागि चीन सरकार पनि सकारात्मक रहेको बताउँदै पोखरा र गण्डकी प्रदेशले नै अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्नुपर्नेमा उनी जोड दिन्छन्।
सम्भावना प्रशस्त तर न्यून कार्य
चीनको आठ वटा शहरसँग पोखराले भगिनी सम्बन्ध जोडेको छ। तर, त्यसबाट फाइदा भने लिन नसकेको व्यवसायीको गुनासो छ। नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुल्मी दिदीबहिनी शहरका रूपमा विकास भए पनि पोखराले यसको फाइदा लिन नसकेको बताउँछन्। चीनका शहरमा हुने व्यापारिक मेलामा पोखराको प्रतिनिधित्व गराई आर्थिक रूपमा दुवै शहरलाई फाइदा गराउन सकिने भए पनि त्यसो नहुन सकेको मुल्मीको गुनासो छ।
एकदुई पटक व्यापारिक मेलामा सहभागी भए पनि त्यसको निरन्तरता नहुँदा नाम मात्रको भगिनी सम्बन्ध हुन पुगेको टिप्पणी गर्दै मुल्मी भन्छन्, “पोखराबाट व्यापारिक मेलामा सहभागी हुने, पोखराका स्थानीय सामानदेखि पोखराको पर्यटनबारे प्रचारप्रसार गर्ने, साथै उताबाट पनि पोखरामा हुने कार्यक्रममा बोलाउने गर्दा बल्ल भगिनी सम्बन्धको अर्थ रहन्छ।”
पोखरा महानगरका सूचना अधिकारी किरणप्रसाद कोइराला भगिनी सम्बन्धलाई अघि बढाउन महानगरको सक्रियता कम भएको स्विकार्छन्। यद्यपि चीनका शहरबाट पोखरालाई कोभिड-१९ को समयमा आर्थिक सहयोग, एम्बुलेन्स सहयोग तथा अन्य सहयोगहरू भइरहेको उनी बताउँछन्। “पोखरामा ड्रागन बोट फेस्टिभल तथा चिनियाँ सांस्कृतिक कार्यक्रमहरूले पोखरासँगको भगिनी सम्बन्धलाई सुधार्न सहयोग पुगेको छ,” कोइराला भन्छन्।
नेपाल-चीन मैत्री संघका अध्यक्ष विश्वशंकर पालिखे पोखरा महानगर र भगिनी सम्बन्ध रहेका शहरबीच आपसी सहयोग आदानप्रदान भइरहे पनि अझै सुदृढ पार्नुपर्नेमा जोड दिन्छन्। चीनका शहरले गरेका कामको अनुभवलाई पोखराले अध्ययन गरेर यहाँका योजनामा कार्यान्वयन गर्नुपर्ने उनी बताउँछन्। पालिखे भन्छन्, “चिनियाँ शहरको १० वर्षको अनुभवलाई हामीले हेर्यौं भने हाम्रो १० वर्ष त बच्यो नि!”
लिंजी, कुनमिङ, गोन्जाओमा भगिनी सम्बन्ध विस्तामा सक्रियता देखाएका व्यवसायी पालिखे त्यति वेला व्यापारिक मेलामा सहभागी गराउने, त्यहाँका पर्यटक व्यवसायीसँग भेटघाट तथा पत्रकार सम्मेलन गरी पोखराको प्रचार गर्ने काम भएको बताउँछन्। संसारले चीनका पर्यटकलाई भित्र्याउने कोशिश गरिरहेको वेला भगिनी सम्बन्धको माध्यमबाट ठूलो संख्यामा चिनियाँ पर्यटकलाई पोखरा ल्याउन सकिने उनी बताउँछन्।
व्यवसायी अशोक पालिखेले भगिनी सम्बन्ध नामको मात्र भइरहेको गुनासो गर्छन्। अहिले भ्रमण मात्रै भइरहेको बताउँदै पोखरा शहरमा प्रभावकारी काम गर्नुपर्नेमा जोड दिन्छन्। फेवा ताल जोडिएको खपौंदी, ठूलाखेत, हर्पन खोलामा सिंचाइ आयोजना खाँचो रहेको बताउँदै त्यसमा चिनियाँ सहयोग जुटाउन सकिने उनको भनाइ छ।
पोखराले चिनियाँ शहरसँग भगिनी सम्बन्ध जोड्दै गइरहँदा नेपाल-चीन दौत्य सम्बन्धको ६८ वर्ष पूरा भएको छ। पहिलो पटक २०१२ साउन १७ गते तत्कालीन राजा महेन्द्रका प्रमुख सल्लाहकार सरदार गुञ्जमान सिंह तथा चीनका राजदूत युआन जोङसियाङबीच आधिकारिक रूपमा दौत्य सम्बन्धमा हस्ताक्षर भएको थियो। त्यस यता नेपाल र चीनबीचको सम्बन्धले नयाँ रूप लिएको छ भने महत्त्वपूर्ण सम्झौता पनि भएका छन्।
तिनै सम्झौता अनुरूप देशैभर विकास पूर्वाधारका आयोजनामा चीनले सहयोग गर्दै आएको छ। त्यही पूर्वाधार आयोजनासँग जोडिएको छ, पोखरा शहर। चीन सरकारबाट लाभ लिन र दिन पोखरासँग प्रशस्त सम्भावना छन्। तर, कूटनीतिक सम्बन्धलाई बुझेर प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा भने पोखरा सम्भावित लाभ लिन चुकिरहेको छ।