भीम उपाध्याय: बेलगाम दुष्प्रचारक
मिथ्या सूचना बाँडेर लाखौं फलोअर्सलाई भ्रममा पारिरहेका पूर्व सचिव भीम उपाध्यायका पोस्टहरू व्यक्तिको चरित्रहत्या गर्न र सामाजिक विग्रह निम्त्याउन उद्यत देखिन्छन्।
भरतपुर महानगर-१६ की पूर्णीमाया गुरुङले गत भदौ ७ मा भीम उपाध्याय विरुद्ध चितवन प्रहरीमा जाहेरी दिइन्। नेपाल सरकारका पूर्व सचिव उपाध्यायले आफ्नो चरित्रहत्या गरेको गुरुङको आरोप छ।
उपाध्यायले भदौ ३ मा आफ्नो फेसबूकमा ‘गोरु खाने धराने’ क्याप्सन लेखी एक महिलाले हड्डी टोक्दै गरेको तस्वीर पोस्ट गरेका थिए। सोही फोटो प्रयोग गरेर पौडेल दाइ नामक टिकटक अकाउन्टमा भिडिओ पनि हालिएको थियो। यो ठीक त्यही वेला थियो, जति वेला धरानमा गोहत्याका विषयमा धार्मिक र पहिचानवादी संगठनबीच विवाद चर्किरहेको थियो। गोरु काटेको आरोपमा साउन ९ मा पक्राउ परेका विन्द्राकुमार राई र राजन परियार साउन २६ मा छुटे लगत्तै नेपाल आदिवासी जनजाति महासंघ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले मंगलबारेमा उनीहरूलाई सम्मान गर्दै भोज आयोजना गरेका थिए।
उपाध्यायले उक्त फोटो सोही भोजको भए जसरी प्रचार गराउँदै ‘आगोमा घ्यू थप्ने’ काम गरेका थिए। नेपाल तथ्यजाँचका अनुसार फोटोमा ७ गतेसम्म सात हजार ५०० ‘रियाक्सन’ थिए भने दुई हजार ५०० कमेन्ट र १११ शेयर देखिन्थ्यो। टिकटक भिडिओमा सात हजार ४०० लाइक र तीन हजार ८०० कमेन्ट थिए। यी फोटो र भिडिओ अरू थुप्रै फेसबूक प्रोफाइल, पेज र ग्रूपमा पनि भाइरल थिए।
उजुरीपछि उपाध्यायले धरानकी भनेकी महिला चितवनकी रहेको खुल्यो। तर, यतिन्जेल उनले गर्दै नगरेको कामका लागि चर्को आलोचना खेप्नुपरिसकेको थियो। “मेरो फोटोबारे यूट्यूब, टिकटक र फेसबूकमा आएका कमेन्ट निकै अत्यासलाग्दा थिए,” गुरुङ भन्छिन्। उनका अनुसार त्यो फोटो दुई वर्षअघि तनहुँको देवघाट गाउँपालिका, पीपलटारमा आयोजित भोजमा खिचेर टिकटकमा हालिएको भिडिओको स्क्रीन शट हो। पास्नी भोजमा परम्परा अनुसार राँगोको सिङ्गो हड्डी सहितको मासु पकाइएको थियो।
आफ्नो फोटो दुरुपयोग गरिएकोबारे सोध्न खोज्दा उपाध्याय सम्पर्कमै नआएको र उजुरी हालेपछि मात्र माफी मागेर पोस्ट हटाएको गुरुङको भनाइ छ। “उहाँको एउटा पोस्टले तीनचार दिन मेरो भोक-निद्रा हरायो, अरूले यस्तो भोग्न नपरोस्,” उनी भन्छिन्, “अब जे गर्छ कानूनले गर्छ।”
भीम उपध्यायको पोस्ट। गुरुङले प्रहरीमा उजुरी दिएपछि उनले हटाएका थिए।
उपाध्यायले गरेको एउटा पोस्टले उद्वेलित एक व्यक्तिको प्रतिक्रिया यस्तो छ- “गाई काट्ने.....हरूलाई बलि चढाउनुपर्छ।”
त्यसको प्रतिकारमा अर्का व्यक्तिको कमेन्ट छ- “हाम्रो रीतिथिति मनाउँदा तिम्रो अतिवाद शुरू भए स्वीकार्य हुनेछैन, हामी पनि सडकमा हतियार सहित आउनेछौं।”
भ्रामक सामग्रीले चर्काएको यस्तो द्वन्द्व सामाजिक सञ्जालमा मात्र सीमित रहेन। गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही धार्मिक समर्थकले भदौ ९ गतेका लागि धरानमा प्रदर्शन आह्वान गरे। स्थानीय जनजाति समुदाय सम्बद्ध राजनीतिक दल र संस्थाले प्रतिकारको तयारी गरे। साम्प्रदायिक हिंसाको जोखिम देखिएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले भदौ ८ को राति १२ बजेदेखि २४ घण्टे निषेधाज्ञा लागू गरी तत्काललाई सङ्कट टार्न सक्यो।
फेसबूकमा तीन लाख २७ हजारभन्दा बढी र एक्स (ट्वीटर) प्रोफाइलमा ४१ हजार २०० फलोअर रहेका उपाध्यायले भ्रामक प्रचार गरेको यो पहिलो पटक होइन। नेपाल सरकारकाे सचिवमा बहाल रहेकै वेला सन् २०१५ मा चन्द्रमा दुई वटा देखिएको अनि उल्टो चन्द्रमा देखिएको भन्दै पोस्ट गरेका थिए। सांसद चन्द्र भण्डारीको निवासमा खाना पकाउने ग्यास चुहिएर भएको भनिएको आगलागीका वेला पनि उक्त दुर्घटना प्रयोग अवधि गुज्रिएको सिलिन्डरले निम्त्याएको आशय व्यक्त गरेका थिए।
२०७९ फागुन ४ को फेसबूक पोस्टमा ‘कतै तपाईंको ग्यास सिलिन्डरको म्याद एक्स्पाएर भएको त छैन?’ भन्दै उनले सिलिन्डरमा हुने अंग्रेजी ‘ए’ देखि ‘डी’ सम्मका अक्षरले म्याद गुज्रने महीना र दुई वटा अङ्कले वर्षलाई सङ्केत गर्ने दाबी गरेका थिए। पाँच हजार २०० रियाक्सन र ६४५ कमेन्ट रहेको उक्त पोस्ट तीन हजार ४०० भन्दा बढीले शेयर गरेका छन्।
तर, उपाध्यायले लेखे जस्तो ग्यास सिलिन्डरको ‘एक्सपाइरी डेट’ हुँदैन। यस विषयमा हिमालखबरले विस्तृत सामग्री प्रकाशन गरिसकेको छ।
उपाध्यायले २०७९ पुस ८ मा फेसबूकमा एमाले नेताहरू सूर्य थापा र गोकुल बाँस्कोटाको तस्वीर राखी उनीहरूले पूर्व मन्त्री हिसिला यमी एशियाकै भ्रष्ट महिला भएको आरोप लगाई पीत पत्रकारिता गरेको र उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले एक हजार जरिवाना तोकेको दाबी गरेका थिए।
तर, यथार्थमा उनीहरूलाई अदालतले जरिवाना गरेकै छैन।
उपाध्यायले फैलाएका भ्रमका शृङ्खला लामै छन्। जस्तै- अर्जेन्टिनालाई विश्वकप जिताएका लिओनल मेस्सीको सम्मानमा अर्जेन्टिनी सरकारले उनको फोटो र हस्ताक्षर सहित बैंक नोट जारी गरेको, बालेन्द्र साह मेयर बन्नुअघि राष्ट्रपतिले भेटेको फोटो शेयर गर्दै काठमाडौंको मेयरलाई विभेद गरिएको, स्थानीय चुनावमा निर्वाचित नभईकनै निर्वाचित भनेको, बाजुरा जिल्ला अस्पतालको शल्यक्रिया कक्ष भन्दै टहराको फोटो पोस्ट गरेको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकै महँगो साबुन प्रयोग गर्ने गरेको, त्रिभुवन विश्वविद्यालयको थेसिस फोहोरको डङ्गुरमा फ्याँकिएको आदि।
भ्रम छरेकै कारण उपाध्याय २०७७ वैशाखमा पक्राउ समेत परेका थिए। उनले कोरोनाका कारण धनगढीमा उपचाररत रुकुमपश्चिमका दुई व्यक्तिको मृत्यु भएको भनी फेसबूकमा लेखेका थिए। जबकि त्यति वेलासम्म नेपालमा कोरोनाबाट कसैको मृत्यु भएको आधिकारिक निकायले पुष्टि गरेकै थिएन। उपाध्यायले गलत सूचना प्रवाह गरेर महामारीका वेला समाजमा त्रास फैलाएको प्रहरीको आरोप थियो।
चार दिन हिरासत बसेर २५ हजार धरौटीमा छुटेका उनले पक्राउ पर्नुको कारणबारे पनि भ्रम छरे। प्रधानमन्त्री ओली विरुद्ध स्टाटस लेखेकाले पक्राउ गरिएको प्रचार गरेकाले नागरिक तहबाट सरकारकै आलोचना भयो। अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा पनि उनले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध स्टाटस लेखेकाले पक्राउ गरिएको भन्दै खास कारण लुकाएका छन्।
सामाजिक असर
सामाजिक सञ्जालमा धेरै फलोअर रहेका तथा सार्वजनिक छवि बनाइसकेका व्यक्तिले लेखेका कुरा तत्काल ठूलो समूहमा फैलिन्छन्। तिनलाई आममानिसले विश्वास पनि गरिहाल्छन्, सत्यतथ्य जाँच्नतिर लाग्दैनन्। परिणाम- कतिपय अफवाह यतिसम्म हानिकारक सावित हुन्छन् कि ती सामुदायिक सद्भाव बिथोल्ने, परिस्थिति अझ भड्काइदिने र समाजलाई नै गलत दिशामा धकेल्ने कारक बनिदिन्छन्।
सञ्जालमा गलत सूचना प्रवाह गरेर सर्वसाधारणलाई दिग्भ्रान्त बनाइएको अर्को उदाहरण हो- ‘अनलाइनखबर अनफलो’ अभियान। गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरका मेयर उम्मेदवार बालेन्द्र साहको आलोचना गरेको भन्दै उपाध्यायसहितले अनलाइनखबर डटकमको फेसबूक पेज ‘अनफलो’ गर्ने अभियान चलाएका थिए।
यसका लागि पनि उनले झूटो सूचना प्रवाह गरे, “सोत्तरीकरणको बाटोमा लोकप्रिय अनलाइनखबर, साढे १८ लाखको फलोअर्सबाट साढे १५ लाखमा गुल्टुङबाजी।” उनको यो पोस्टलाई विश्वास गर्दै त्यति वेला धेरैले अनलाइनखबरलाई अनफलो गरेको त्यसमा लेखिएका प्रतिक्रियाबाट बुझिन्छ।
तथ्य जाँच्ने संस्था नेपाल चेकका सम्पादक दीपक अधिकारी आमनागरिकमा सूचना तथा सञ्चार साक्षरता नहुँदा सामाजिक सञ्जालमा मिथ्या सूचना फैलाउनेहरू हावी भइरहेको बताउँछन्। उनका अनुसार अफवाह फैलाउनेहरूको उद्देश्य खासगरी विपक्षीलाई हानि पुर्याउने, आफ्नो अजेन्डा फैलाउने, फरक विचार र आस्था राख्नेलाई बदनाम बनाउने आदि हुन्छ।
उपाध्यायका धार्मिक-साम्प्रदायिक विद्वेष फैलाउने पोस्टहरू र तीसँगै एकअर्का समुदायप्रति घृणा फैलाउने गरी आइरहेका अभिव्यक्तिहरूलाई डरलाग्दो सङ्केत ठान्छन् अधिकारी। “सार्वजनिक छवि बनाइसकेका मानिसले कसैको चरित्र हत्या गर्ने र जात, धर्म, लिङ्ग र वर्गलाई होच्याउने सूचना सम्प्रेषण गरे असर भयानक हुन सक्छ,” उनी भन्छन्।
नेपाल तथ्य जाँचका सम्पादक उमेश श्रेष्ठ सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’ को दायित्व मिथ्या सूचना फैलाउने नभई त्यस्ता सूचनाको प्रसार रोक्ने चाहिं हुने बताउँछन्। उनका अनुसार ‘इन्फ्लुएन्सर’ हरूले प्राप्त सूचनाको सत्य जाँचेर मात्र प्रस्तुत गर्नुपर्छ। सामान्य प्रयोगकर्ताको भन्दा पहुँच र प्रभाव बढी हुने भएकाले उनीहरू आफ्ना हरेक पोस्टप्रति संवेदनशील हुनुपर्छ। “तर, उपाध्यायले त्यसो गरेको देखिंदैन, हामीले मात्रै उनले फैलाएका ११ वटा मिथ्या सूचनाको तथ्य जाँच गरिसकेका छौं,” श्रेष्ठ भन्छन्।
उपाध्याय भने आफूले मूलधारका सञ्चारमाध्यमले दिन नसकेका सूचना दिएर ‘नागरिक पत्रकारिता’ गरिरहेको दाबी गर्दै विभिन्न स्रोतले दिएको सूचना हाल्दा कहिलेकाहीं गल्ती हुने गरेको बताउँछन्। भन्छन्, “ठूला ठूला मिडियाले पनि गल्ती गर्ने भएकाले मबाट नहुने भन्ने हुँदैन। तर, गल्ती भन्ने थाहा पाएपछि सच्याउँछु।”
कसैलाई बदनाम बनाउने र चरित्रहत्या गर्ने नियत नभए पनि आफ्ना पोस्टहरूसँगै आउने प्रतिक्रियाले मानिसहरूलाई तनाव गराएको उपाध्याय ठान्छन्। “सामाजिक सञ्जालमा आएको गाली सहन नसक्ने हो भने सञ्जाल नचलाए पनि हुन्छ,” उनी भन्छन्, “सञ्जालमा आएका गाली हेरेर मुद्दा हाल्ने हो भने मैले दिनको १०० लाई मुद्दा हाल्नुपर्छ।”