भारत विरुद्धको खेलमा राम्रो गर्नेछौं: मोन्टी देसाई
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले भारत विरुद्धको खेलमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास गरेका छन्।
एशिया कप अन्तर्गत भदौ १३ मा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो। पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०४ रनमै समेटिएको थियो।
पाकिस्तानसँगको खेलमा केही महत्त्वपूर्ण अवसर गुमेको बताउँदै नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक देसाईले भारतसँगको खेलमा सुधार गरिने बताए। द न्याशनल न्यूजसँगको कुराकानीमा मुख्य प्रशिक्षक देसाईले पाकिस्तानसँगको हारले अर्को खेलका लागि पाठ सिकाएको बताएका छन्।
एशिया कप अन्तर्गत नेपालले भदौ १८ गते भारतसँग प्रतिस्पर्धा गर्दै छ। श्रीलंकामा हुने खेलका लागि नेपाली टोली बिहीबार पाकिस्तानबाट श्रीलंका प्रस्थान गरेको छ।
आईसीसी वरीयताको शीर्षस्थानमा रहेको पाकिस्तानसँगको खेलले भारतसँग खेल्न नेपाली खेलाडीलाई आत्मबल मिलेको देसाईको भनाइ थियो। पाकिस्तानसँगको हारका विषयमा छलफल गरेको उनले बताए।
पहिलो खेलबाट नेपाली खेलाडीले ठूला टोलीसँग कसरी खेल्ने भन्ने अनुभव हासिल गरेको उनले बताए। अब भारतसँग खेल्नुअघि नै पाकिस्तानसँगको हारलाई बिर्सिनुपर्ने उनको भनाइ थियो।
पाकिस्तानसँगको खेलले नेपाली खेलाडीलाई आफूमाथि विश्वास गर्नुपर्ने पाठ सिकाएको मुख्य प्रशिक्षक देसाईले बताए। पाकिस्तानसँगको खेलपछि नेपाली टोलीले आफैंलाई बदल्न खोजेको बताउँदै मुख्य प्रशिक्षक देसाईले भने, “आशा छ, श्रीलंकामा भारत विरुद्धको खेलमा राम्रो गर्नेछौं।”
पाकिस्तान र श्रीलंकामा चलिरहेको एशिया कपमा ६ टोली सहभागी छन्। नेपाल रहेको समूह ‘ए’ मा पाकिस्तान र भारत छन् भने समूह ‘बी’ मा श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छन्।
दुवै समूहबाट दुई दुई टोली अर्को चरणमा पुग्नेछन्। नेपालले अर्को खेल भदौ १८ गते भारतसँग खेल्नेछ।