जसपामा एक व्यक्ति एक पदको व्यवस्था लागू
जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक व्यक्ति एक पद र एक समितिको व्यवस्था लागू गरिएको छ।
पार्टीका कुनै संगठन, विभाग या पदाधिकारीमा पनि एक व्यक्ति एक पदको मान्यतालाई कायम गरिने भएको जसपाले जनाएको छ।
अहिले सञ्चालन भइरहेको तीनमहीने संगठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरे बमोजिमको पदाधिकारी र सदस्य संख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
बस्नेतका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहित रहने व्यवस्था गरेको छ। त्यस्तै, प्रादेशिक संरचनले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफैं गर्न सक्ने भएकाले एक व्यक्ति एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ।