एमसीसी आजबाट कार्यान्वयनमा
नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को संयुक्त लगानीको ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा गरिएको छ।
मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसीए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्व तयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो। अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन टु फोर्स– ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेका छन्।
एआईएफ सम्बन्धी पत्र आदानप्रदान कार्यक्रममा अर्थमन्त्री महतले एमसीए–नेपाल अन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारण लाइन र सडक आयोजनाले समग्र पूर्वाधार क्षेत्रका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “आजबाट हामीले एमसीसी कार्यान्वयन शुरूआत गरेका छौंं। यो कोशेढुङ्गासम्ममा आइपुग्न धेरै उतारचढाव भोग्नुपरेको थियो,” उनले भने।
अर्थसचिव एवं एमसीए–नेपाल सञ्चालक समिति अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालको विद्युत् व्यापारमा लागि प्रसारण आयोजना महत्त्वपूर्ण रहेको बताए। जग्गा अधिग्रहणको काममा शीघ्रता दिएर चाँडै सक्ने र परियोजना कार्यान्वयनका क्रममा अनुगमनको काम प्रभावकारी ढङ्गले गर्ने उनको प्रतिबद्धता थियो।
एमसीए–नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खड्गबहादुर विष्टले जग्गा अधिग्रहण र मुआब्जाको काम आगामी डिसेम्बरसम्म सकिसक्ने तयारी रहेको बताए। प्रसारण लाइनको ठेक्का प्रक्रिया शुरू भइसकेको उनको भनाइ छ।
नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले दुई देशबीच ७५ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध स्मरण गर्दै एमसीसी नेपाल कम्प्याक्टले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्ने विश्वास व्यक्त गरे। एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा ईआईएफ एक महत्त्वपूर्ण कोशेढुङ्गा रहेको बताए।