पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल
एकदिवसीय वरीयतामा शीर्ष स्थानमा रहेको टोली पाकिस्तान विरुद्ध १५औं स्थानमा रहेको नेपाल आज प्रतिस्पर्धात्मक मानसिकताका साथ मैदानमा उत्रनेछ।
नेपाली क्रिकेटका लागि आज अभूतपूर्व दिन रहेको छ। विश्व क्रिकेटमा एकदिवसीयतर्फ शीर्ष स्थानमा रहेको टीम पाकिस्तान विरुद्ध आज नेपालले एशिया कपमा प्रतिस्पर्धा गर्दै छ।
नेपाल भने एकदिवसीय वरीयतामा १५औं स्थानमा छ। त्यसैले आजको खेल नम्बर एक विरुद्ध नम्बर १५ बनेको छ।
मुल्तान क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समय अनुसार आज दिउँसो ३:१५ मा शुरू हुनेछ। ५० ओभरको यो प्रतियोगितालाई पाकिस्तान, भारत, श्रीलंका जस्ता देशले आउँदै गरेको विश्वकपको तयारीस्वरूप लिएका छन्। नेपालले भने यसलाई अनुभव हासिल गर्ने मौकाका रूपमा लिएको छ।
हिजो भएको प्रि-म्याच कन्फरेन्समा पनि नेपालका कप्तान रोहित पौडेलले पाकिस्तानी पत्रकारहरूलाई भनेका थिए, “फरक केवल अनुभवको मात्र छ। क्षमताको कुरा गर्नुहुन्छ भने ब्याटिङ र बलिङ दुवैमा हामी समान छौं।”
पाकिस्तानसँग वर्तमान समयका विश्वकै उत्कृष्टमध्येका एक ब्याट्सम्यान बाबर आजम छन्। उनी अहिले एकदिवसीय वरीयतामा ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा पनि छन्। यस्तै, मोहम्मद रिजवान, फखार जमान जस्ता उपल्लो कोटिका ब्याट्सम्यान पनि नेपालका लागि ठूला चुनौती हुन्।
बलिङतर्फ पनि पाकिस्तानसँग शाहीनशाह अफ्रिदी, हरीश रउफ, नसीम शाह जस्ता उम्दा खेलाडी छन्।
यही टोलीको हाँक दिंदै पाकिस्तानी पत्रकारले विश्वको नम्बर एक टोलीसँग खेल्न पर्दा तपाईंहरूको तयारी कस्तो छ भनेर प्रश्न गरेका थिए। त्यसमा पनि नेपालका कप्तान रोहितले आत्मविश्वासी भएर जवाफ दिए। “प्रतिद्वन्द्वी जो भए पनि हामी एक-एक बलमा केन्द्रित भएर खेल्नेछौं।”
तर, पाकिस्तानले पनि नेपाललाई हलुका रूपमा लिएको छैन। प्रि-म्याच कन्फरेन्समै पाकिस्तानका कप्तान बाबर आजमले नेपाललाई इङ्गित गर्दै भनेका थिए- “हेर्नुस् क्रिकेटमा कुनै पनि टोलीलाई हलुका आँक्नु हुँदैन। हामीले उनीहरूको टोलीलाई हेरेका छौं। छलफल गरेका छौं। उनीहरूका बलिया र कमजोर पक्षमा ध्यान दिएका छौं। हाम्रा लागि पहिलो र महत्त्वपूर्ण खेल भएकाले राम्रो नतीजा ल्याउने कोशिश गर्नेछौं।”
यता, नेपालले पनि पाकिस्तान बलियो टोली भनेर आत्मविश्वास गुमाएको छैन। नेपाल प्रतिस्पर्धात्मक मानसिकतामै देखिएको छ। “हामी योग्य थियौं, त्यसैले यहाँ छौं। हामी उनीहरू विरुद्ध प्रतिस्पर्धात्मक खेल खेल्नेछौं,” रोहितले भने।
यसबीच पाकिस्तानले नेपाल विरुद्ध आफ्ना सबै महत्त्वपूर्ण खेलाडी समेटेर प्लेइङ- ११ पनि सार्वजनिक गरेको छ। प्लेइङ- ११ मा बाबर आजम, शादाब खान, फखार जमान, इमाम उल हक, सलमान अली अघा, इफ्तिखार अहमद, मोहम्मद रिजवान, मोहम्मद नवाज, नसीम शाह, शाहीनशाह अफ्रिदी र हरीश रउफ रहेका छन्।
एशिया कपमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। आयोजक पाकिस्तानसँग नेपाल र भारत समूह ‘ए’ मा छन्। त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बाङ्लादेश र अफगानिस्तान छन्।