गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि आजका लागि कार्यसूचीमा राखिएका विषयहरू हटाउँदै प्रतिनिधि सभाको बैठक सकिएको छ।
आजको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भनी कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले प्रस्ताव पेश गरेका थिए।सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लागेपछि गणपूरक संख्या नपुगेको भन्दै सांसदहरू सुमना श्रेष्ठ, दामोदर पौडेल र ठाकुर गैरेले नियमापत्ति जनाएका थिए।
यसपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको संख्या यकीन गर्न निर्देशन दिएका थिए। ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न प्रतिनिधि सभामा कायम रहेका सदस्यको एकचौथाइ अर्थात् ६९ हुनुपर्नेमा ५९ मात्रै भएपछि आजको बैठक स्थगन भएको हो।
प्रतिनिधि सभाको अर्को बैठक यही भदौ १८ गते सोमबार दिनको १ बजे बस्ने भएको छ।
विभिन्न ७९ वटा कानूनलाई संशोधन गर्ने गरी तयार पारिएको यो विधेयक गत वैशाख २६ गते प्रतिनिधि सभामा दर्ता भएको थियो।