राजमार्ग विस्तारबारे मकवानपुरका नेताद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
एशियन हाइवेको मापदण्ड अनुसार हेटौंडामा पर्ने राजमार्ग विस्तार गर्ने सवालमा मकवानपुरका नेताहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
मकवानपुरका सांसद लगायत नेताको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजमार्ग विस्तारबारे ध्यानाकर्षण गराएको हो। सडक विस्तार गर्ने सरकारको कामलाई कसैले अवरोध नगर्ने तर यसैका कारण हेटौंडाको एचआईडी, मेनरोड, राप्तीरोडका घरधनी र व्यवसायीहरू सुकुम्बासी हुने भएकाले मुआब्जा दिएर मात्र भत्काउन उनीहरूले माग गरेका छन्।
सांसदहरू महेशकुमार बर्तौला, दीपकबहादुर सिंह, विन्दवासिनी कंशाकार लगायतको टोलीले प्रधानमन्त्रीलाई भेटेर पहिले घरहरूको लगत सङ्कलन गर्नुपर्ने पनि बताएको छ।
पछिल्लो पटक संघीय सरकार अन्तर्गतको डिभिजन सडक कार्यालय, हेटौंडाले ३५ दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन समय सीमा दिएकोमा सर्वोच्च अदालतको आदेशका कारण काम रोकिएको छ।
साउन १६ गतेबाट राजमार्ग विस्तारको काम हुनुपर्नेमा स्थानीयले सर्वोच्चमा रिट हालेपछि रोकिएको थियो।