भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडानमा पहिलो दिन यात्रु नै भएनन्
नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान शुरू गरेको छ।
भैरहवाबाट काठमाडौं हुँदै दिल्ली र हङकङका लागि निगमले उडान शुरू गरेको हो।
तर, आजको उडान भने यात्रुविहीन भएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले भैरहवा विमानस्थलबाट कुनै पनि यात्रु विमानमा नचढेको बताए।
उनका अनुसार मलेशियाबाट साताको एक पटक भैरहवा आउने नेपाल एअरलाइन्सको विमान काठमाडौं हुँदै हङकङ र दिल्लीतर्फ जानेछ।
उक्त रूटका लागि निगमले भदौ १० गतेदेखि टिकट बूकिङ खुला गरेको थियो। नेपाल वायुसेवा निगमले मलेशिया-भैरहवा रूटमा गत जेठ ३० गतेबाट उडान शुरू गरेको थियो। त्यसयता निगमले उक्त रूटमा १२ वटा उडान गरिसकेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको हो। -रासस