पोखरामा सन्देश सभा गर्दै समाजवादी मोर्चा
समाजवादी मोर्चा नेपालले भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देश सभा आयोजना गर्ने भएको छ।
पोखरा सभागृहमा हुने कार्यक्रममा मोर्चामा आबद्ध विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्। नेकपा (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले सन्देश सभामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायत नेता सहभागी हुनेछन्।
उनले भने, “प्रधानमन्त्री लगायत मोर्चाका शीर्ष नेता सन्देश सभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देश सभा आयोजना गरिएको हो।”
पोखरामा हुने कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मा माओवादीले नै पाएको छ। त्यसको तयारीमा जुटिसकेको उनले बताए। मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्न लागेको छ।