संसदीय समितिका सबै सभापति निर्विरोध निर्वाचित
प्रतिनिधि सभा अन्तर्गतका १० वटै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
प्रतिनिधि सभाका सबै समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए। नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिको सभापतिमा दुई जनाको उम्मेदवारी दर्ता भएको थियो।
एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा भएका हुन्। साथै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि जनमतका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी दर्ता भएको थियो। पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान निर्वाचित भएका हुन्।
त्यस्तै, अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव निर्विरोध निर्वाचित भएका छन्। कानून, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)की विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेलको निर्विरोध निर्वाचित भएका हुन्।
प्रतिनिधि सभाको निर्वाचन भएको नौ महीनापछि १० वटा संसदीय समितिले नेतृत्व पाएका छन्।