आगामी निर्वाचनमा ‘नो भोट’ को प्रस्ताव
निर्वाचन आयोगले ‘नो भोट’ र विदेशमा रहेका नेपालीले समानुपातिकमा मतदान गर्न पाउने गरी प्रस्ताव गरेको छ।
आयोगले तयार गरेको ‘निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।
निर्वाचन आयोग र नेपाल कानून समाजले विधेयकबारे सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा रहेका मतदातालाई पनि समेट्ने गरी व्यवस्था गर्न लागिएको बताए। मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले सम्बन्धित मुलुकमा रहेको वा सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली कूटनीतिक नियोगको सहयोगमा मतदान गर्न पाउने व्यवस्था मिलाउन सक्ने र त्यस्ता मतदाताले प्रतिनिधि सभाको समानुपातिकतर्फको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको उनले जानकारी दिए।
त्यस्तै, सर्वोच्च अदालतको आदेश अनुसार ‘नो भोट’ को व्यवस्था पनि गरिएको बताए। कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले कुनै पनि उम्मेदवारलाई समर्थन नरहने (नो भोट) गरी मतदान गर्न सकिनेछ। यसरी कुनै उम्मेदवारलाई सदर मतको ५० प्रतिशतभन्दा बढी मतदाताले ‘नो भोट’ भनेमा निर्वाचन रद्द गरिनेछ। त्यसपछि पुनः निर्वाचन हुँदा अस्वीकृत व्यक्ति फेरि उम्मेदवार हुन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।
यससँगै नयाँ विधेयकमा निर्वाचन प्रयोजनका लागि सम्भव भएसम्म स्वदेशी सामग्री नै प्रयोग गर्ने जनाइएको छ। आयोगले सरकार समक्ष पेश भएको विधेयक अघि बढाउन आग्रह गरेको छ।