‘अप्रमाणित अभियोग सहित रिजाललाई थुनामा राख्नु अन्यायपूर्ण’
नक्कली शरणार्थीको गिरोहबारे रिजाल स्वयंले एक वर्षअघिदेखि सम्बद्ध निकायमा सप्रमाण सूचना दिंदै आएको विज्ञप्तिमा उल्लेख छ।
भूटानी शरणार्थी नेता टेकनाथ रिजालकी श्रीमती कौशिला रिजालले आफ्ना श्रीमान्लाई अप्रमाणित अभियोग सहित थुनामा राखिएको बताएकी छन्। नक्कली शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका टेकनाथकी श्रीमतीले एक विज्ञप्ति जारी गर्दै रिजाललाई थुनामा राख्नु अन्यायपूर्ण भएको पनि बताएकी छन्।
‘झन्डै ३० वर्षयता शरणागत भएर नेपाल भूमिमा बस्दै आएको र शरणार्थी हकहितका निम्ति राष्ट्रिय-अन्तर्राष्ट्रिय तहमा आवाज उठाउँदै आएका नेता रिजालको अभियानलाई निस्तेज गराउन लामो समयदेखि चलखेल जारी रहेको विषय समेत भिन्न तहमा अवगत हुँदै आएकै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आज आएर नक्कली शरणार्थीको गिरोहलाई जोडेर नेता रिजालमाथि अप्रमाणित र अवाञ्छित अभियोग सहित पुर्पक्ष थुनामा राखिएको प्रसङ्ग आफैंमा अन्यायपूर्ण देखिन्छ।’
नक्कली शरणार्थीको गिरोहबारे रिजाल स्वयंले एक वर्षअघिदेखि नेपालका पूर्व प्रधानामन्त्रीहरू तथा बहालवाला मन्त्री, पूर्व परराष्ट्र मन्त्री र मिडिया सहित सम्बद्ध निकायमा सप्रमाण सूचना दिंदै आएको पनि विज्ञप्तिमा उल्लेख छ। यस्तै, रिजालले संलग्न व्यक्तिहरूबारे गत वर्ष वैशाख अन्तिमतिर पनि गृह मन्त्रालयमा लिखित रूपमा जानकारी दिएको विज्ञप्ति मार्फत बताइएको छ।
रिजालकी श्रीमती कौशिलाले आफ्ना श्रीमान् ७६ वर्ष पुग्न लागेका तथा सुगर, ब्लड प्रेसर सहितका रोगबाट ग्रसित भएकाले उनको न्यायिक सुनुवाइका लागि पनि अनुरोध गरेकी छन्।