संसदीय समितिका सभापति चयन हुँदै
१० मध्ये नौ समितिमा निर्विरोध नेतृत्व चयन भएको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका अब्दुल खान र रास्वपाका गणेश पराजुलीबीच प्रतिस्पर्धा हुने भएको छ।
आज प्रतिनिधि सभा अन्तर्गतका १० विषयगत संसदीय समितिका सभापतिको चयन हुँदै छ। हिजो ती समितिका सभापतिका लागि मनोनयन दर्ता भएको थियो।
मनोनयनका क्रममा १० संसदीय समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको थियो। नौ वटा समितिमा एक-एक जनाको उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भइसकेका छन्। यद्यपि, औपचारिक घोषणा भने हुन बाँकी छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा चाहिं जनमत पार्टीका अब्दुल खान र रास्वपाका गणेश पराजुलीबीच प्रतिस्पर्धा हुने भएको छ।
अर्थ समितिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकै आरजु राणाको उम्मेदवारी परेको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा पनि कांग्रेसकै रामहरी खतिवडाको उम्मेदवारी परेको छ।
नेकपा (माओवादी केन्द्र)की विमला सुवेदीले कानून, न्याय तथा मानवअधिकार समितिमा उम्मेदवारी दिएकी छन्। शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उम्मेदवारी दिएका छन्। जनता समाजवादी पार्टीका राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उम्मेदवारी दिएका छन्।
नेकपा (एमाले)का ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समिति, एमालेकै किरणकुमार साहले महिला तथा सामाजिक समितिमा उम्मेदवारी दिएका छन्। यसैगरी पूर्वाधार विकास समितिमा राप्रपाका दीपकबहादुर सिंहको उम्मेदवारी परेको छ।
समितिका सभापति चयनका लागि आज दिउँसो ३ बजे बैठक बस्दै छ।