नमूना बोलपत्र कागजात नेपाली भाषामा बनाइने
सरकारले सार्वजनिक खरीदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ। सार्वजनिक खरीद अनुगमन कार्यालयका सचिव दामोदर रेग्मीले खरीद आफैंमा जटिल र प्राविधिक विषय भएकाले यो जटिलतालाई कागजातले सरल र सहज बनाउनु आवश्यक भएको बताए।
उनले भने, “विभिन्न सरोकारवालाका सुझाव अनुरूप सरल खरीद कार्यविधि र नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने कामलाई प्राथमिकता दिइएको हो।”
रेग्मीले खरीदको प्रभावकारिताले पूँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा तीव्रता आउने हुँदा सार्वजनिक खरीदलाई वित्त व्यवस्थापनको एउटा महत्त्वपूर्ण पाटोका रूपमा लिई सुधारका आवश्यक काम गर्ने क्रममा सार्वजनिक खरीद ऐनलाई पनि सामयिक बनाउन लागिएको उल्लेख गरे।
राष्ट्रिय स्तरमा प्रयोग हुने कागजातमा आउन सक्ने भाषागत समस्या निराकरण गर्न त्यस्तो आवश्यकता महसूस गरेको कार्यालयले जनाएको छ। यसले प्रदेश र स्थानीय तह तथा सबै सार्वजनिक निकायको खरीद क्षमतामा वृद्धि हुने कार्यालयले अपेक्षा गरेको छ। -रासस