लेखा र सामाजिक समितिमा एमालेको उम्मेदवारी
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभाका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ।
एमालेका तर्फबाट ऋषिकेश पोखरेलले सार्वनजिक लेखा समितिमा र किरणकुमार साहले महिला तथा सामाजिक समितिको सभापतिमा उम्मेदवारी दिएका हुन्। पोखरेलको प्रस्तावकमा राजेन्द्र केसी र समर्थकमा दामोदर भण्डारी तथा साहको प्रस्तावकमा शान्ति विक र समर्थकमा आश्माकुमारी चौधरी छन्।
कानून, न्याय तथा मानव अधिकार समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र) का विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ। उनको प्रस्तावकमा पूर्णबहादुर घर्ती, समर्थकमा महेश बर्तौला, रमेश लेखक र ध्रुवबहादुर प्रधान छन्।
यस्तै, पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन्।
प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिको सभापति पदका लागि सोमबार हुने निर्वाचनका लागि आज बिहान ११ देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यतालिका छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव, राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्।
यस्तै, अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशी उम्मेदवारी दर्ता गराउने तयारीमा छन्।