सरस्वतीको बिगुल
गाउँमै बसेर काम गर्ने भएकाले धेरैका लागि अपरिचित सरस्वती अमेरिकामा पुरस्कार पाएसँगै प्रसिद्ध बनेकी छन्।
मानव अधिकार अभियन्ताका रूपमा दुई दशकदेखि काम गर्दै आएकी बैतडीकी सरस्वती नेपाली गत साता अमेरिकाको विदेश मन्त्रालयले प्रदान गर्ने ‘ग्लोबल एन्टिरेसिज्म च्याम्पियन अवार्ड २०२३’ बाट सम्मानित भइन्। सीमान्तीकृत समुदायको अधिकारका तथा जातीय विभेद विरुद्ध समानता र न्यायको लडाइँ लडेका कारण उनलाई सम्मान गरिएको हो।
सरस्वतीले सन् २०१८ मा पनि ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ पाइसकेकी थिइन्। तर, गाउँमै बसेर काम गर्ने हुनाले धेरैलाई उनीबारे थाहा थिएन। एन्टिरेसिज्म पुरस्कारले भने सरस्वतीको प्रसिद्धि बढेको छ।
बैतडीदेखि अमेरिकासम्मको सरस्वतीको यात्रा भने कम कष्टकर छैन। ६ महीनाकी हुँदा बुबा नन्द नेपालीको देहान्त भयो। तीन छोरा र दुई छोरी आमा बिस्नाले हुर्काइन्।
नन्द सेनामा कार्यरत थिए। बिगुल फुक्ने काम गर्थे। सेनामै लुगा पनि सिलाउँथे। बुबाको देहान्तपछि सरस्वतीका जेठा दाजु उद्धवलाई सेनाको जागीर दिइयो। माइला* दाजु हर्क नगरपालिकामा कार्यालय सहयोगीको काम गर्छन्। कान्छा दाजु प्रकाश पनि सेनामै आबद्ध भए।
दाजुहरूकै प्रेरणामा उनले आठ वर्षको उमेरमा गाउँकै दशरथचन्द्र प्राथमिक विद्यालयबाट औपचारिक अध्ययन थालिन्। २०५८ सालमा शैलेखमा रहेको वीरेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरिन्। गोठालापानीमा रहेको जगन्नाथ क्याम्पसबाट कक्षा १२ र समाजशास्त्रमा स्नातक पूरा गरिन्।
दाजुहरू जागीरे भएकाले सरस्वतीलाई खान-लाउन अभाव भएन। पढाइमा पनि मद्दत मिल्यो। उनको परिवार हलिया पनि हुनु परेन। तर, जातीय विभेद भने उनले पाइला पाइलामा भोगिन्।
विद्रोहको झिल्को र अधिकारप्राप्तिका लडाइँहरू
सरस्वतीका दाजु प्रकाश जातीय छुवाछूत विरुद्ध भित्तेलेखन गर्थे। घरमै दलित अगुवाको छलफल हुने भएकाले पनि १५ वर्षकै उमेरमा सरस्वतीमा विद्रोहको झिल्को बल्न थालिसकेको थियो।
२०५३ सालमा उनी दलित अगुवाहरू पुरनसिंह दयाल, करनसिंह दयाल र नरेश विकसँग जोडिइन्। पुरनसिंहले २०३६ सालमै बैतडी जिल्लामा उत्पीडित जातीय उत्थान (उजाउ) मञ्च स्थापना गरेका थिए। त्यति वेला दलितलाई होटलमा प्रवेश गर्न दिइँदैनथ्यो। बाहिरै बसेर चिया खाए पनि गिलास आफैं धुनुपर्थ्यो। उजाउ मञ्चले होटल प्रवेशको अभियान थालेको थियो।
२०५७ सालसम्म उनले उजाउ मञ्चमै रहेर काम गरिन्। त्यसपछि मित्र संघमा आबद्ध भइन्। २०६० सालमा राष्ट्रिय दलित नेटवर्क र २०६१ मा दलित विकास मञ्चमा रहेर काम गरिन्।
डोली प्रथा, सिनो प्रथा, हलिया प्रथा, खलिया प्रथा र जातीय विभेद चरम हुने वेला यो संस्थाबाट हलिया मुक्ति विरुद्ध टोल टोलमा समूह गठन गरिन्। गाउँ गाउँमा गएर शिविर सञ्चालन गरिन्। शिविर मार्फत दलित समुदायलाई एकीकृत गराइन्।
त्यति वेलासम्म मानिसहरू ऋण चुक्ता गर्न नसकुन्जेल साहुकहाँ हलिया बस्नुपर्ने बाध्यता थियो। श्रम शोषण व्यापक थियो। २०६३ सालमा हलिया अधिकार मञ्च गठन भयो। आठ दलका नेताहरूले पनि बैतडीमा भएको सम्मेलनमा सम्बोधन गरेपछि हलियाको मुद्दाबारे देशव्यापी चर्चा भयो। “हलियाको बारेमा त्यसपछि राज्यले थाहा पायो,” सरस्वतीले भनिन्।
सरस्वतीकै पहलमा २०६३ सालमा बैतडी हलियामुक्त घोषणा भयो। सात जना हलियामुक्त भए। उनकै नेतृत्वमा पछि थप ३७ हलिया पनि मुक्त भए। देशव्यापी रूपमा भने सरकारले २०६५ साल भदौ २१ गते हलिया प्रथा अन्त्य भएको घोषणा गरेको थियो।
तर, हलियालाई पुनःस्थापना गर्न नसक्दा भने उनीहरू भारतमा चौकदारी गर्न बाध्य भएको सरस्वती सुनाउँछिन्। उनका अनुसार एक हजार ४०० जनालाई पुनःस्थापना र पाँच हजारलाई परिचयपत्र बाँड्न छुटेको छ।
२०६३ सालतिरै तत्कालीन विद्रोही माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौतापछि द्वन्द्व व्यवस्थापनका लागि भनेर जिल्ला जिल्लामा नेटवर्क बनाइयो। सरस्वतीले शान्ति समितिको संयोजक भएर काम गरिन्। २०६४ सालमा उनी नागरिक समाजमा आबद्ध भइन्। अनि उनको गाउँ जागरण अभियान जिल्ला बाहिर समेत फैलियो।
२०६७ सालमा भूमि अधिकार मञ्च मार्फत उनको समूहले लालपुर्जा महिला-पुरुष दुवैका नाममा हुनुपर्ने सहित जनमुखी भूमि अधिकारको माग गर्यो। यही मञ्च मार्फत १५० महिला सहित कञ्चनपुरदेखि कैलालीको टीकापुरसम्म ११ दिनको पैदलयात्रा गरिन्।
५४ वर्षीय शिक्षकले मानसिक रूपमा कमजोर १४ वर्षिया दलित बालिकामाथि विद्यालयमै पटक पटक बलात्कार गरेको थाहा पाएपछि यो लडाइँ पनि उनले लडिन्। पीडकलाई ११ वर्षको जेल सजाय तोकियो।
मन्दिर प्रवेश आन्दोलन
दलित समुदायलाई ‘अछूत’ भनेर मन्दिर प्रवेशमा निषेध गरिने चलन तोड्न २०५८ सालमा दशरथचन्द नजिकै रहेको जगन्नाथ* मन्दिरमा ‘मन्दिर प्रवेश आन्दोलन’ शुरू भयो। यो आन्दोलनमा सरस्वती पनि सामेल थिइन्। तर, अछूतले मन्दिर छोएको भन्दै गाउँका केही ठालुहरूले सरस्वती सहितको समूहलाई कुटे।
“सरस्वतीको घर बजारमा थियो। उनकै घरबाट पूजाका सामग्री बोकेर भगवती प्रवेश गरेका थियौं,” दुई दशकअघि एउटी दलित महिलाले गरेको संघर्ष सम्झेर गौरव महसूस गर्दै पुरनसिंह भन्छन्, “सुदूरपश्चिममा महिलाहरू चुलोचौकामा सीमित रहेको वेला विद्रोह गर्न सक्नु नै उनको सफलता हो,” पुरनसिंहको नजरमा सरस्वती नेपालले चिन्न नसकेकी विद्रोही हुन्।
सरस्वतीको विद्रोहको अर्को दृष्टान्त हो- मेलौली जात्राको घटना।
शिवनाथ गाउँपालिकको मेलौली क्षेत्रमा रहेको उदयदेव मन्दिरमा पनि अरू मन्दिर जस्तै दलितलाई प्रवेश निषेध थियो। मेलौली जात्राको अवसरमा २०६४ सालमा भुवनचन्द्र विक* र सरस्वतीको समूह उदयदेव मन्दिर प्रवेश गर्यो।
यही मन्दिरमा गैरदलितले चढाएको राँगा दलितले खानुपर्ने बाध्यता थियो। दलित अगुवाहरूले मरेका राँगा नखाने निर्णय गरे। त्यसपछि ती मरेका राँगा आठ दिनसम्म उठाइएन। गन्ध गाउँभरि फैलियो। अन्ततः प्रहरी प्रशासन नै आएर राँगा उठाउन बाध्य भयो। यसरी अर्को विद्रोह पनि सफल भयो।
अगुवाहरूको सिको गरेर उनी दलित आन्दोलनमा होमिएकी थिइन्।
२०६४ सालमा डोटीको शैलेश्वरीमा पनि मन्दिर प्रवेशको आन्दोलन शुरू भयो। विभिन्न जिल्लाबाट दलित अगुवा आएका थिए। बैतडी जिल्लाबाट पुरनसिंह दयाल, करनसिंह दयाल, नरेश विक र सरस्वतीको समूह समर्थन जनाउन गयो। त्यहाँ पनि दलित अगुवामाथि कुटपिट भयो। भीरतिर भाग्ने क्रममा सरस्वती चोटग्रस्त भइन्। सेती अञ्चल अस्पताल धनगढीमा दुई सातासम्म उपचार गराइन्।
नेकपा (एकीकृत समाजवादी)का नेता गणेश विकका नजरमा सरस्वती सामाजिक मुद्दामा कहिल्यै सम्झौता नगर्ने योद्धा हुन्। २०५८ सालमा उनीहरू जगन्नाथ मन्दिर प्रवेश अभियानमा सँगै थिए।
‘थरकै कारण चुनाव हार्नुपर्यो’
सामाजिक मुद्दाको सम्बोधन र सामाजिक समस्याको समाधान राजनीतिबाट हुने विश्वास गर्ने सरस्वती विद्यार्थीकालमा राजनीतिमा पनि सक्रिय थिइन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट शुरू भएको उनको राजनीतिक यात्रा नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको उपाध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म पुगेको छ।
२०७० सालमा उनी अखिल नेपाल महिला संघको सचिव चयन भइन्। २०७२ सालमा युवा संघ नेपालको महिला विभागको केन्द्रीय सदस्य बनिन्।
उनी अहिले मदन भण्डारी फाउन्डेशनको सदस्य पनि छिन्। “सामाजिक मुद्दालाई मूर्त रूप दिन एक चोटि नीतिनिर्माण तहमा जाने मन छ,” उनले आफ्नो रहर व्यक्त गर्छिन्।
हुन त यो रहर पूरा गर्न उनले प्रयास नगरेकी पनि होइनन्। उनी २०७४ सालको स्थानीय तह निवार्चनमा एमालेबाटै दशरथचन्द नगरपालिकाको उपप्रमुखको उम्मेदवार पनि बनेकी थिइन्। तर, ७३४ मतान्तरले नेपाली कांग्रेसकी मीना चन्दसँग पराजित भइन्।
“मेरो नामको पछाडि लागेको थरका कारण मैले चुनाव हार्नुपर्यो,” उनी भन्छिन्। उनी यो दाबीलाई पुष्टि गर्न चुनावका क्रममा भोगेको अनुभव पनि सुनाउँछिन्।
“दलितकी छोरी अब शिलान्यास गर्ने भइन् भन्न थाले। मन्दिर, धारामा दलितले शिलान्यास गरेको ठाउँमा कसरी जाने भनेर गाइँगुइँ शुरू भयो,” उनी भन्छिन्।
सरस्वतीको अनुभवमा अप्रत्यक्ष रूपमा पार्टीभित्रकै केही सहकर्मीले पनि उनलाई असहयोग गरेका थिए। ‘बरु फरक पार्टीकै होऊन् तर गैरदलित हुनुपर्यो’ भन्ने जमातको आवाज सुनिन थाल्यो। पार्टीभित्रकै एक जना वडा कमिटी सदस्यले दलित महिलाले टिकट पाएको भन्दै विरोध जनाएको उनी सुनाउँछिन्।
चुनाव प्रचारमा हिंड्दा पनि रात परेपछि उनी दलितकै घर खोजेर वास बसिन्। “दुई दशक गरेको सामाजिक विद्रोह बालुवामा पानी खन्याए जस्तै भयो। बदलिंदै छ भनेको समाज झन् पश्चगामी भएको छ,” उनी दुःखेसो पोख्छिन्।
२०७९ सालको स्थानीय तहको निवार्चनमा पनि उनी उपप्रमुखको उम्मेदवार बनिन्। यस पटकको चुनावी परिणामले उनलाई झनै पिरोल्यो।
नगर प्रमुखमा आफ्नै दलका पुष्करराज जोशी निर्वाचित हुँदा उपप्रमुखमा सरस्वती पुनः पराजित भइन्। नेपाली कांगेसकी कुमारी कौशिला चन्दसँग उनी ६७५ मतान्तरले पराजित भइन्।
यो निर्वाचन परिणामले दलित त्यसमाथि पनि महिलालाई चुनाव जित्न सहज छैन भन्ने पुष्टि गरेको उनी बताउँछिन्।
*अन्यथा भएकाले सच्याइएको छ। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौं। –सं.