अङ्कतालिकामा माथि उक्लियो इन्टर मियामी, एमएलएस डेब्यूमै मेस्सीको गोल
खेलको ५९औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८९औं मिनेटमा गोल गरेका थिए।
न्यूयोर्क रेड बुल्सलाई हराउँदै इन्टर मियामी अङ्कतालिकामा एक स्थान माथि उक्लिएको छ। आज बिहान सम्पन्न मेजर लिग सकर (एमएलएस) अन्तर्गत भएको खेलमा मियामीले न्यूयोर्कलाई २-० गोलअन्तरले पराजित गरेको थियो।
यो जितसँगै मियामी २१ अङ्क सहित लिगको इस्टर्न कन्फरेन्स अन्तर्गतका १५ टोलीमध्ये १४औं स्थानमा उक्लिएको छ। अर्थात् लिगको प्लेअफ चरणमा पुग्ने सम्भावना मियामीले जीवितै राखेको छ।
आज अर्जेन्टिनी विश्वप्रसिद्ध खेलाडी लियोनल मेस्सीलाई मियामीका प्रशिक्षक जेरार्डो मार्टिनोले आराम दिएका थिए। तर, खेलको ५९औं मिनेटमा मेस्सी मैदान प्रवेश गरे। एमएलएसका लागि मेस्सीको यो पहिलो खेल पनि थियो।
मेस्सी प्रवेश गर्नुअघि नै मियामी १-० गोलअन्तरले अघि थियो। मियामीका लागि डिएगो गोमेजले ३७औं मिनेटमा गोल गरेका थिए। खेलको ८९औं मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे र खेल २-० ले जिताए।
योसँगै मियामी पछिल्लो नौ खेलमा अपराजित छ भने मेस्सीले मियामीका लागि नौ खेलमा ११ गोल गरिसकेका छन्।
मेस्सीको आगमनसँगै यो सिजनमा मियामीले लिग्स कपको उपाधि जितिसकेको छ भने यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ। यस्तै, सन् २०२४ को कोनकाकाफ च्याम्पियन्स कपमा पनि मियामी छनोट भइसकेको छ।