संसदीय समितिका सभापतिको मनोनयन दर्ता हुँदै
प्रतिनिधि सभाका १० वटै विषय समिति सभापतिका लागि आज मनोनयन दर्ता हुँदै छ।
‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। प्रतिनिधि सभाको निर्वाचन भएको नौ महीनापछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३:०० बजेका लागि निर्धारण गरेको घोषणाअनुरूप निर्वाचन प्रक्रिया अघि बढेको हो।
समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थन सहित आज बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ।