धरानमा सबै समुदायका व्यक्ति एकजुट भएर सद्भाव कायम राख्न देउवाको अपील
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा धार्मिक, सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, धार्मिक संघसंस्था तथा समुदायका व्यक्तिलाई एउटै ठाउँमा उभिएर पहल गर्न अपील गरेका छन्।
कांग्रेस सभापति देउवाले शनिबार अपील जारी गर्दै धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुग्न सक्ने विषयप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। उनले सामाजिक, धार्मिक, राजनीतिक समग्र सद्भावका लागि अपील गरेका छन्।
उनले सबैको धर्म, संस्कृतिलाई सम्मान गर्न आग्रह गरेका छन्। “नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आआफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन,” देउवाले भनेका छन्, “कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्याउन पनि उचित हुँदैन।”
उनले सद्भाव भड्काउने गतिविधि कसैको हितमा नहुने उल्लेख गरेका छन्। “नेपालीको भावना र चाहना विपरीत धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि हामी कसैको पनि हितमा छैन, हुन सक्दैन। यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य-अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुईमत छैन,” देउवाले भनेका छन्, “यसले निम्त्याउन सक्ने परिस्थिति वेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो।”
उनले सबैलाई एक ठाउँमा उभिएर आपसी एकताका लागि जुट्न आग्रह गरेका छन्। “यस विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघसंस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपील गर्दछ,” देउवाले भनेका छन्।