‘विद्यार्थीबाट पैसा लिने होइन, छात्रवृत्ति दिने विश्वविद्यालय बनाउँछौं’
‘हामी गरीब हुनुपर्ने कारण छैन, आफैंले आफैंलाई गरीब बनाएका हौं र गरीबीलाई पचाएका हौं। अब त्यसरी चूप बसेर हुँदैन, काममा अग्रसर हुनुपर्छ।’
मकवानपुरको चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना भएको छ। विश्वविद्यालय यही शैक्षिक सत्रदेखि अध्ययन-अध्यापन शुरू गर्दै छ।
स्नातकोत्तर र विद्यावारिधिको मात्रै पढाइ हुने यस विश्वविद्यालयले विद्यार्थीबाट शुल्क नलिने योजना अघि सारेको छ। बरु सबै विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने तयारी छ। विश्वविद्यालयमा कस्तो पढाइ हुन्छ, कसरी अघि बढ्छ? यिनै विषयमा केन्द्रित रहेर विश्वविद्यालयका अध्यक्ष प्रा.डा. राजेन्द्रध्वज जोशीसँग हिमालखबरका लागि महेश्वर आचार्यले गरेको संवादः
भर्खरै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय शुरू भएको छ। यतिका विश्वविद्यालय छँदाछँदै अर्को विश्वविद्यालय खोल्नुपर्ने आवश्यकता किन पर्यो?
संख्याको मात्र गणना गर्दा त कुनै देशमा नेपालका भन्दा धेरै विश्वविद्यालय छन् भने कतै थोरै पनि होलान्। अहिले भएका विश्वविद्यालय जस्तै अर्को नयाँ विश्वविद्यालय बनाउन यो संस्था थपिएको होइन।
विश्वविद्यालयले प्रत्यक्ष रूपमा अर्थतन्त्रलाई सघाउनुपर्ने हो। संसारभर नै विश्वविद्यालयले ज्ञान र प्रविधि विकास गरेर देश विकासमा सघाउने हो। तर, नेपालका विश्वविद्यालयले धेरै वर्षसम्म पनि त्यो काम गर्न सकेनन्। विश्वविद्यालय अर्थतन्त्रसँग सम्बन्धित हुन सकेनन्।
अर्को, केही दशकअघि हामी जस्तै रहेका देश अहिले अगाडि बढिसके, हामी चाहिं पछि परेका छौं। यस्तै हो भने नेपाल कहिले पनि समृद्ध हुँदैन। त्यसको कारण विश्वविद्यालयले प्रत्यक्ष रूपमा उद्योगधन्दालाई ज्ञान तथा प्रविधि मार्फत मद्दत गर्न नसकेकाले हो।
त्यही भएर यो विश्वविद्यालयको उद्देश्य फरक छ। उद्योगधन्दालाई उकास्न प्रतिस्पर्धी ज्ञान तथा प्रविधि उपलब्ध गराउने उद्देश्य छ।
त्यसका लागि विश्वस्तरीय विश्वविद्यालय बनाउनुपर्छ। विश्वस्तरीय भनेको विश्वका उत्कृष्ट १०० वा २०० विश्वविद्यालयभित्र पर्ने लक्ष्य हो। हामीले सिर्जना गर्ने ज्ञान तथा प्रविधि विश्वमै प्रतिस्पर्धी हुनुपर्छ।
यो विश्वविद्यालयलाई औद्योगिक विकाससँग जोड्न खोज्नुभएको हो?
औद्योगिक विकासलाई टेवा दिने उद्देश्य हो। देशलाई समृद्ध बनाएर मात्र भएन, न्याय र समतामूलक समाज पनि चाहियो।
देशका सबै विश्वविद्यालय राजनीतिक हस्तक्षेपले तहसनहस छन्। यस्तो वेलामा नयाँ विश्वविद्यालयले लिएको लक्ष्य हासिल गर्न कत्तिको सहज होला?
विश्वविद्यालय परिकल्पना गर्दा नै यसमा छलफल गरेका छौं। नेपालका संस्था तथा निकाय दुई कारणले बिग्रेका हुन्। पहिलो, भ्रष्टाचार हो भने दोस्रो कारण दलगत प्रभाव।
भ्रष्टाचार सबै ठाउँमा हुन्छ भन्ने जगजाहेर छ। भ्रष्टाचारले संस्थाभित्र मनमुटाव र फूट ल्याउँछ। कुनै पनि कार्यालयमा १०० जना छन् भने सबैले भ्रष्टाचार गर्न पाउँदैनन्, २० जनाले गर्लान्। भ्रष्टाचार गर्न पाउने र नपाउनेबीच दरार हुन्छ। त्यस्तै, भ्रष्टाचार धेरै गर्ने र थोरै गर्नेबीच पनि अर्को दरार हुन्छ।
यसले संस्थाको उद्देश्य तपसिलमा पर्छ, आपसी मनमुटाव मात्र मौलाउँछ र संस्था लक्ष्यहीनताको शिकार हुन्छ। त्यसमाथि दलीय राजनीति परेपछि स्वार्थ समूह शक्ति आर्जनमा हानाथाप गर्छन्। यसरी बिगार्ने कुरामा प्रतिस्पर्धी हुँदा संस्थाहरू थिलथिलो हुँदै गएका हुन्।
यी सबैबाट अप्रभावित रहने विश्वविद्यालय बनेन भने हाम्रो प्रयास पनि व्यर्थ हुन्छ भनेर नै ऐनमा प्रधानमन्त्री वा मन्त्रीको अध्यक्षताको विश्वविद्यालय सभा बनाएनौं। विश्वविद्यालयको प्रमुख कुलपति हुने प्रावधानमा पनि राजनीतिक नियुक्ति नहुने गरी खाका बनाएका छौंं र पारदर्शी शासन व्यवस्था हुने गरी ऐन बनाएका छौं।
विश्वविद्यालय संरक्षकमा १५ जना सदस्य रहने व्यवस्था छ। त्यसमा पाँच जना पदेन सदस्य हुन्, जो सरकारी वा अन्य निकायका सदस्य छन्। त्यसमा तीन जना विदेशी छन्। त्यसले गर्दा राजनीतिक नियुक्तिको गुन्जायस छैन। जो जो छानिएका छन्, उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेर छानिएको हुँदा पूर्णतः पेशेवर, राजनीति बाहेकको संरक्षक समिति बनेको छ। त्यही समितिले अध्यक्ष नियुक्त गर्छ। अध्यक्षलाई गैरराजनीतिक संयन्त्रले नियुक्ति गरेपछि राजनीतिक प्रभाव हुने कुरै भएन।
अर्को, ऐन मार्फत स्वायत्त शासन व्यवस्था पाएका छौं। यी यावत् समस्याबाट अप्रभावित रहने गरी विश्वविद्यालय थालनी गर्ने अवसर संसद् र सरकारले दिएको छ, जहाँ राजनीतिका लागि कुनै ठाउँ छैन। त्यसो गर्न सकिन्छ भन्ने प्रमाणित नै गरिसकेका छौं। यसमा खुशी लागेको कुरा के हो भने राजनीतिक, जनसाधारण र विदेशी विशिष्ट सहयोगीबाट सहयोग पाएका छौं।
यसरी स्वायत्त संस्था बनाउन कति कसरत गर्नुपर्यो?
यस्तो ऐन आउला भन्ने विरलै मान्छेले सोचेका थिए। शुरूमा त यो हुनै नसक्ने ठानियो। सात वर्षअघि कसैले नेपालमा राजनीतिक प्रभाव नपर्ने, भ्रष्टाचार शून्य संस्था बन्न सक्छ भनेको भए सजिलै विश्वास गर्ने आधार थिएन।
एशियाली विकास ब्यांक (एडीबी)ले २०७२ सालमा एउटा स्वायत्त विश्वविद्यालय बनाउन ७० मिलियन डलर प्रस्ताव गर्दा सरकारले ‘बरु पैसा चाहिन्न, त्यो गर्न सकिन्न’ भनेको थियो। यो त ७० मिलियन डलरले पनि गर्न नसकिने काम पो रहेछ। तर, प्रयास गर्दै जाँदा सम्भव भयो। सात वर्षमा बल्ल यो काम पूरा भएको छ।
विश्वविद्यालयको नेतृत्वमा बस्नेहरूका लागि हैन, बरु नेपालको अर्थतन्त्र विकास गर्न, हाम्रो पछौटेपन हटाउन, हाम्रो आत्मसम्मान कायम गर्न स्वायत्तता चाहिएको हो भन्दा राजनीतिक नेतृत्वले हुन्न भन्ने अवस्था रहेन। त्यसैले यो विश्वविद्यालय गठनको आन्तरिक शक्ति भनेकै नेपालको अर्थतन्त्रको विकास गर्ने हो।
संसारकै १०० वा २०० विश्वविद्यालयमा पार्ने लक्ष्य बोक्नुभएको छ। त्यसका लागि आर्थिक स्रोत पनि चाहियो, कसरी जुट्छ?
विश्वविद्यालय बनाउन चार वटा कुरा चाहिन्छ, विद्यार्थी, प्राध्यापक, पैसा र शासकीय व्यवस्था। विश्वविद्यालयमा व्यवस्था राम्रो र साधनसम्पन्न भएपछि विद्यार्थी र प्राध्यापक आइहाल्छन्। संसारभरि नै विश्वविद्यालय बनाउन सबैभन्दा गाह्रो कुरा भनेको राम्रो शासकीय व्यवस्था हो। त्यो व्यवस्था विकसित मुलुक अमेरिका र बेलायतका राम्रो भनिएका विश्वविद्यालयले पनि पाएका छैनन्।
अब चुनौती भनेको आर्थिक स्रोत जुटाउने हो। राम्रो विश्वविद्यालय बनाउन कति पैसा चाहिन्छ भनिसाध्य छैन। अमेरिकाको हार्वर्ड विश्वविद्यालयको अक्षयकोष ४० अर्ब डलरको छ, हाम्रो देशको कुल गार्हस्थ्य उत्पादनको दोब्बर। त्यसैले हामीलाई पनि ठूलै पैसाको खाँचो छ।
पैसा आउने वातावरण विश्वासमा भरपर्ने कुरा हो। यदि नेपाली जनतामा यो विश्वविद्यालयले देश बनाउने हो भन्ने विश्वास दिलाउन सक्यौं भने १००, हजार वा लाख किन नदिऔं भन्दा स्रोतको अभाव हुँदैन।
यो आत्मसम्मानको कुरा पनि हो। सधैं गरीब देशको नागरिक भएर बाँच्नुपर्छ भन्ने छ र! हाम्रो प्रतिव्यक्ति आय जम्मा १३ सय डलर छ। यति निम्छरो अवस्था त अफगानिस्तान बाहेक कसैको छैन। अनि कसरी नेपालीको शिर ठाडो हुन्छ? यस विश्वविद्यालयले नेपालीको शिर ठाडो पार्ने काम थाल्दै छ। उत्साहित नेपालीले दुई-चार पैसा दिए भने केही न केही आर्थिक स्रोत जुट्न सक्छ। नेपाल सरकारबाट एक अर्ब ४० करोडको प्रतिबद्धता आएको छ।
हाम्रो लक्ष्य एक लाख जनताबाट पैसा उठाउने हो। तर, त्यति पैसाले पनि पुग्दैन। त्यसैले दान-दातव्य ग्रहण गर्न अमेरिकामा पनि संस्था दर्ता गरेका छौं, ‘एभरेस्ट फन्ड फर साइन्स एन्ड टेक्नोलोजी।’ त्यस मार्फत १०-१५ अर्ब नै जुटाउने लक्ष्य राखेका छौं।
विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ?
जागीर खोज्ने खालको जनशक्तिभन्दा पनि जागीर सिर्जना गर्ने खालको जनशक्ति उत्पादन गर्न चाहन्छौं। पढाइ सकिएपछि विद्यार्थीले आफ्नै उद्योगधन्दा स्थापना गर्ने वा कुनै उद्योगले ‘हायर’ गर्ने र त्यो उद्योगलाई गति दिने खालको जनशक्ति उत्पादन गर्ने ध्येय हो। त्यसो भएकाले स्नातकोत्तर र विद्यावारिधिको मात्र पढाइ शुरू गर्छौं र हरेक विद्यार्थीले उद्योगधन्दासँग सम्बन्धित अनुसन्धान गर्छ।
उदाहरणका लागि पढाइ शुरू नहुँदै लार्के हिमाल जडीबुटी उद्योगले दुई जना पीएचडी र एक जना स्नातकोत्तर तहको विद्यार्थीलाई महीनाको ३० र २५ हजार क्रमशः छात्रवृत्ति दिने सम्झौता गरेको छ। ती विद्यार्थीको पढाइ सकिएपछि तीन वर्षलाई जागीर पनि दिने सम्झौता विश्वविद्यालयसँग गरेको छ। अब विद्यार्थीले त्यो उद्योगको आवश्यकताका आधारमा अनुसन्धान गर्नेछन्। हाम्रो विद्यार्थी भर्नाको खाका नै यही हो। सबै विद्यार्थीले छात्रवृत्ति पाएर अध्ययन गर्नेछन्, विश्वविद्यालयलाई कुनै शुल्क तिर्नेछैनन्।
त्यसैले धेरै विद्यार्थी भर्ना गर्दैनौं। कालान्तरमा वर्षमा तीन हजार विद्यार्थी भर्ना लिने योजनामा छौं, त्योभन्दा धेरै होइन। तिनमा आधा स्नातकोत्तरका विद्यार्थी हुनेछन् भने आधा पीएचडीका तहका हुनेछन्।
अहिले विश्वविद्यालयको आम्दानीको कुनै स्रोत छैन। विद्यार्थीसँग शुल्क लिंदैनौं। बरु उल्टो छात्रवृत्ति दिन्छौं। अरू विश्वविद्यालयले सम्बन्धन दिएर पैसा कमाउँछन्, सम्बन्धन पनि दिंदैनौं। त्यसैले आम्दानी विनै विश्वविद्यालय चलाउने जमर्को गरेका छौं। त्यसैले सबैलाई मेरो आग्रह के छ भने विश्वविद्यालय चलाउन स्रोत जुटाउन सहयोग गर्नुहोला।
हामीलाई दिएको पैसा हिनामिना हुन्छ कि हुँदैन भन्ने शङ्का नलिन पनि आश्वस्त पार्न चाहन्छु। आर्थिक हिनामिना हुँदैन। हाम्रा प्रत्येक कामकारबाहीका सबैले हिसाबकिताब माग्न सक्नुहुन्छ।
शुल्क लिएर पढाउने परिपाटी विपरीत छात्रवृत्ति दिएर पढाउने खाकाको विकास र योजना कसरी बनाउनुभयो?
अमेरिका वा विकसित मुलुकका विद्यार्थीले विभिन्न सुविधा पाउँछन्। पढाइ सकिएपछि उतै बस्न पनि पाउँछन्। राम्रा विद्यार्थीलाई विश्वस्तरीय विश्वविद्यालयले विभिन्न सुविधा दिएर आकर्षित गरिरहेका छन्। अब हामीले पनि त्यो दिनैपर्ने हुन्छ। त्यसैले नयाँ तरीकाले काम गर्न खोजेका हौं।
विश्वस्तरीय विश्वविद्यालय बनाउने सपना देख्दै गर्दा हाम्रा समस्या समाधान गर्ने उपायप्रति कसरी सोच्नुभएको छ?
विश्वस्तर भनिरहँदा देश बिर्सने भन्ने होइन। मैले शुरूमै भनें- हाम्रो उद्देश्य नै देश समृद्ध बनाउने हो। त्यसकारण स्थानीय, प्रादेशिक र राष्ट्रिय समस्या हेर्नु नै पर्छ। अहिले विश्वविद्यालय रहेको चित्लाङमा के समस्या छ भन्ने हेरिरहेका छौं। चित्लाङको अर्थतन्त्र नउकासी देशको अर्थतन्त्र उकासौंला भनेर कसले विश्वास गर्ला!
त्यसैले म हिमालखबर मार्फत आह्वान गर्न चाहन्छु, यहाँहरूका केकस्ता समस्या छन्, हामीलाई जानकारी गराउनुहोस्। सबै क्षेत्रका समस्या समाधान गर्न नसकौंला तर केही क्षेत्रमा काम गर्न सक्छौं।
विज्ञान तथा प्रविधि विश्वविद्यालय अघि बढाउँदै गर्दा रैथाने ज्ञान, सीप र प्रविधिलाई कसरी जोड्ने सोच्नुभएको छ?
रैथाने ज्ञान, सीप र प्रविधिलाई जोगाउनुपर्छ भन्नेमा दुईमत हुनै सक्दैन। त्यो अपरिहार्य छ तर त्यसलाई परिमार्जन गर्नुपर्ने चुनौती छ। परम्परागत घट्टकै उदाहरण हेरौं। घट्टबाट मिल आयो, मिलबाट जलविद्युत्मा गयो। त्यसैले रैथाने प्रविधिलाई जोगाइराख्न त्यसलाई परिष्कृत गर्नुपर्ने हुन्छ। हाम्रो ध्यान पनि परिष्कृत उन्नत प्रविधिको आविष्कार हो।
नेपाल यसरी गरीब हुनुपर्ने मुलुक होइन भन्ने भाष्य जताततै सुनिन्छ। यो सन्दर्भलाई विश्वविद्यालयमा कसरी चर्चा-परिचर्चा गर्ने योजना छ?
यो त पक्कै हो, नेपाल यति गरीब हुनुपर्ने मुलक होइन। साधारण बुझाइको आधारमा कुरा गर्ने हो भने पनि संसारभरका मानिसमा हुने बुद्धि उस्तै उस्तै नै हुन्छ। नेपाली पनि बुद्धिहीन होइनौं। हुर्काइमा ध्यान दिने हो भने विकसित र उन्नत भनिएका मुलुकका जस्तै हुन सक्छौं।
किन भएन त भन्ने प्रश्न पनि आउला। यस सन्दर्भमा के भन्छु भने ६०-७० वर्षअघि आर्थिक दृष्टिले चीन, भारत, बाङ्लादेश सरह नै नेपाल थियो। अहिले ती सबै माथि गए, हामी भने तलै रह्यौं। हामी किन सधैं गरीब?
राजनीतिकर्मीले गरिहाल्लान् नि भन्ने सोच्यौं। अनि सबै बाहिर मात्र जाने भयौं। कक्षा १२ सक्यो, अनि विदेश जाने सोच्यो। यसरी नै अघि बढ्ने हो भने त धनी हुनै सक्दैनौं। यो राष्ट्रिय पीडाबाट आहत भएर आमनागरिकले ‘मैले के गर्न सक्छु’ भन्ने सोचेर जागरुक हुने हो भने नेपालको विकास हुन्छ, नत्र हुँदैन। अरूले गरिदेला नि भनेर चूप बसेकाले नै अवस्था बिग्रिएको हो। अब काम गर्न थाल्नुपर्छ, हाम्रो अभियान त्यसैमा केन्द्रित छ।
अरूले गर्न सक्ने, हामीले नसक्ने भन्ने हुँदैन। सामूहिक प्रयास गर्ने हो भने असम्भव छैन। हामी गरीब हुनुपर्ने कारण छैन, आफैंले आफैंलाई गरीब बनाएका हौं र गरीबीलाई पचाएका हौं। अब त्यसरी चूप बसेर हुँदैन, यथास्थितिलाई परिवर्तन गर्न काममा अग्रसर हुनुपर्छ र निर्धक्कसँग समृद्ध हुन सक्छौं।