प्रधानमन्त्रीबाटै जातीय द्वन्द्व निम्त्याउने प्रयास भइरहेको छ: डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले नै जातीय द्वन्द्व निम्त्याउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
मोरङमा शनिबार आयोजित नेपाल प्रेस युनियनको पदस्थापन कार्यक्रममा बोल्दै नेता कोइरालाले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न आग्रह गरे। “संविधानमा लेखेको कुरालाई नजरअन्दाज गर्न सकिंदैन। संविधानमा लेखिएभन्दा बाहिरको कुरा कदापि स्वीकार्य हुँदैन। कुनै पनि पनि प्रकारको सद्भाव खलबल्याउने कार्य हुनु हुँदैन,” उनले भने।
तर, देशकै प्रधानमन्त्रीबाट जातीय द्वन्द्व निम्त्याउने अभिव्यक्ति आइरहेको उनको भनाइ थियो। “देशको प्रधानमन्त्रीले बहुमत दिए जातीय पहिचानको प्रदेश बनाउँछु भनेर अभिव्यक्ति दिए। त्यो कत्तिको उचित हो?” डा. कोइरालाले भने, “जिम्मेवार व्यक्तिबाट यस प्रकारका अभिव्यक्ति आउँदा मुलुकमा अप्ठ्यारो अवस्था आउनेछ। अहिले त्यही हुँदै गएको छ।”
सुनसरीको धरानमा भइरहेको विवाद सबै मिलेर समाधान गर्नुपर्ने उनको भनाइ थियो। उनले धरानको विवाद बढ्दै गए देशभर समस्या निम्तिन सक्ने चिन्ता जनाए।
त्यस्तै, डा. कोइरालाले अहिले सतहमा आएका सबै काण्डमा दोषीलाई कारबाही गर्नुपर्ने बताए। जनताले बुझ्ने गरी ललिता निवास, भूटानी शरणार्थी, सुन तस्करी काण्ड लगायतको छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना हुने उनको भनाइ थियो।