नेपालले जित्यो अन्तर्राष्ट्रिय टी-२० शृङ्खला
चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला क्रिकेट टी-२० शृङ्खला नेपालले जितेको छ।
मलेशियामा शनिबार भएको फाइनल खेलमा हङकङलाई १३ रनले पराजित गर्दै नेपालले शृङ्खला जितेको हो। वर्षाका कारण खेल रद्द भएपछि नेपालले डीएल मेडथका आधारमा १३ रनले जित हासिल गरेको हो।
हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो। त्यसपछि खेल हुन सक्दा डीएल मेथड अपनाइएको थियो।
जसमा नेपालले २५ रनको लक्ष्य पाएको थियो। पाँच ओभरको गणना गर्दा नेपाल १३ रनले अगाडि थियो। त्यसकै आधारमा नेपाल विजयी भएको हो।
नेपालका लागि इन्दु वर्माले १९ र सीता राना मगरले १३ रन बनाए। हङकङका लागि इक्रा शहरले एक विकेट लिइन्।
यसअघि ब्याटिङ गरेको हङकङले ६ विकेट गुमाएर १०१ रन बनाएको थियो। हङकङका लागि का यिङ छनले २९, मरिना एन्टोनियाले १९ रन बनाएका थिए।
नेपालका लागि खुशी डंगोलले तीन, अस्मिता कर्माचार्य र पूजा महतोले एक-एक विकेट लिएका थिए।
आईसीसी टी-२० विश्वकपको एशिया छनोट प्रतियोगिता मलेशियामा हुँदै छ। त्यसको तयारीका क्रममा चार देश सम्मिलित प्रतियोगिता आयोजना गरिएको हो। यसमा नेपालसँगै मलेशिया, कुवेत र हङकङले प्रतिस्पर्धा गरेका थिए।