निषेधाज्ञाले सुनसान धरान
स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेपछि धरान उपमहानगरपालिका क्षेत्र सुनसान बनेको छ।
जिल्ला प्रशासन कार्यालय, सुनसरीले शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर भदौ ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाको समयमा भेला, जुलुस, र्याली निकाल्न रोक लगाएको थियो।
निषेधाज्ञाका कारण सार्वजनिक सवारीसाधन चल्न सकेका छैनन्। धरानबाट बाहिर जाने सवारीसाधन चल्न दिएको भए पनि भित्रिन दिइएको छैन।
धरान प्रवेश गर्ने सबै नाकामा सुरक्षाकर्मी परिचालित छन्। बाहिरबाट धरान प्रवेशमा कडाइ गरिएको छ।
विभिन्न समूह तथा संस्थाले शनिबार र्याली निकाल्ने तयारी गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। शनिबार मध्याह्नसम्म धरानको स्थित सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।