अम्बासमा तय गरिएको एमाले सचिवालय बैठक सर्यो
नेकपा (एमाले)को आजदेखि सिरहाको अम्बासमा तय गरिएको सचिवालय बैठक सरेको छ।
धनगढीमाई नगरपालिकाको सर्रे अम्बासमा बस्ने तय भएको बैठक निरन्तर वर्षाका कारण सारिएको एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले बताए। अब एमाले सचिवालय बैठक भदौ १३ गते बस्नेछ।
बैठकका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार विराटनगर पुगेका छन्। “बैठकस्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो,” मण्डलले भने।
एमालेले शनिबारदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो। २०४६ सालमा एमालेले त्यही ठाउँको एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो। महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो।