बागमती नदीमा जलयात्रा
बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदीमा जलयात्रा गरिएको छ।
नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपन्डोलको आयोजनामा शनिबार बिहान कुपन्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो।
नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको सम्भावना उजागर गर्न जलयात्रा गरिएको बताए।
बाजागाजा सहित शुरू भएको जलयात्राले सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने अवस्था सिर्जना गराएको नाराले जनाएको छ।
सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण बागमती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्।