बेतना सिमसारमा भेटियो नयाँ प्रजातिको कछुवा
मोरङको बेलबारीस्थित बेतना सिमसार क्षेत्रमा नयाँ प्रजातिको कछुवा फेला परेको छ।
अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ कछुवा दुई दर्जनभन्दा बढीको संख्यामा रहेको अध्ययन टोलीले पत्ता लगाएको छ। “बेतना सिमसार क्षेत्रमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूरप्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,” प्राणीशास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले भने।
सन् २०२२ मा आरको नेपालको सहयोगमा अस्ट्रियाका वैज्ञानिक डा. पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्टसेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो। जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निग्रिकन्स’ रहेको छ। अनुसन्धान टोलीका एक सदस्य तपिलप्रकाश राईका अनुसार यो कछुवा ‘आइयूसीएन’ मा अति सङ्कटापन्न प्रजातिका रूपमा सूचीकृत छ।
नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने कछुवा ७० देखि ८० किलोसम्मको हुने र बेतना सिमसारमा करीब दुई दर्जनको संख्यामा रहेको अनुसन्धान टोलीका सदस्य राईले बताए। भारत र बाङ्लादेशको केही स्थानमा मात्र भेटिने यो कछुवा झट्ट हेर्दा मयूरप्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ, तर फरक प्रजातिको रहेको उनले बताए।
ठूला प्रजातिको संरक्षणमा सरकारले चासो देखाए पनि कछुवाका लागि भने ध्यान नदिएको अनुसन्धाता गुनासो गर्छन्। सरकारी स्तरबाटै यो प्रजाति संरक्षणका लागि चासो हुनुपर्ने उनीहरूको माग छ। हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन्। तीमध्ये १३ वटा कडा हाड र चार प्रजाति नरम खपटा भएका छन्।
तराईका केही जिल्लामा मात्र भेटिने मयूरप्वाँखे कछुवा अन्यत्रको तुलनामा पूर्वी नेपालमा बढी पाइन्छ। सिमसारमा कृत्रिम संरचना निर्माण गर्दा वासस्थान विनाश हुँदै गएको र चोरी तस्करी नियन्त्रण हुन नसक्दा यसको अस्तित्व लोप हुने खतरा छ। सर्वाहारी यो कछुवा आईयूसीएन ‘रेड लिस्ट’ मा सङ्कटापन्न सूचीमा छ।
“बाघको संरक्षणमा जति महत्त्व छ, यो कछुवा संरक्षणमा पनि त्यति नै महत्त्व छ। ठूलो टाउको पिठ्युँ (खपटा)मा बुट्टा जस्तो देखिने ठ्याक्कै, मयूरको प्वाँखको बीच भागको आँखा जस्तो देखिने बुट्टा बाहिरी अवारण हेर्दै थाहा हुन्छ मयूरप्वाँखे कछुवा,” स्थानीय बेलबारी–९ का काचिलाल धिमालले भने।
नेपाल, भारत, पाकिस्तान र बाङ्लादेशमा मात्रै पाइने मयूरप्वाँखे कछुवा नेपालमा पाइने कछुवा प्रजातिभन्दा केही ठूलो हुन्छ। रातको समयमा सक्रिय हुने यो प्रजातिले शङ्खे कीरा, माछा, गँड्यौला लगायत ससाना प्रजाति खान्छ। एक पटकमा २० देखि ३० वटासम्म फुल पार्छ।
२०७५ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको एक विवरणमा यो प्रजातिको कछुवा सुनसरी, चितवन र बर्दियामा पाइने उल्लेख छ। -रासस