काठमाडौं उपत्यका सहित बागमतीमा गाडी भाडा वृद्धि
काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा चल्ने सवारी साधनको भाडा वृद्धि भएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको हो। मन्त्रालयले सूचना जारी गर्दै बागमती प्रदेश अन्तर्गत १३ जिल्लाको सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरिएको जनाएको छ।
काठमाडौं उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीको भाडादर ८.३ प्रतिशतले वृद्धि भएको छ। अब काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्म यात्रा गर्दा १९ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि १८ रुपैयाँ थियो।
त्यस्तै, काडमाडौं उपत्यकामा १० किमीसम्म २६ रुपैयाँ, १५ किमीसम्म ३१ रुपैयाँ, २० किमीसम्म ३५ रुपैयाँ र २० किमीभन्दा माथिका ४० रुपैयाँ भाडादर कायम गरिएको छ।
काठमाडौं उपत्यका बाहिर चल्ने यात्रुवाहक सवारीसाधनको भाडादर ५.३१ प्रतिशतले वृद्धि भएको छ। यसैगरी, पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडादर ३.४४ प्रतिशत र मालवाहक सवारीसाधनको भाडादर प्रतिकिमी प्रतिटन ७.७७ प्रतिशतले वृद्धि भएको छ।
पेट्रोलियम पदार्थको मूल्य बढेका कारण सवारीसाधनको भाडादर पनि बढाउनुपरेको मन्त्रालयको भनाइ छ। केही दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो।