‘जनयुद्ध’ र मधेश आन्दोलनलाई बदनाम गर्ने प्रपञ्च भइरहेको छ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जाल मार्फत ‘जनयुद्ध’ र मधेश आन्दोलनलाई बदनाम गर्ने प्रपञ्च भइरहेको आरोप लगाएका छन्।
समाजवादी मोर्चाद्वारा वीरगन्जमा शुक्रबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले भने, “यति वेला जनयुद्ध र मधेश आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरूबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ।”
उनले प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको दाबी गरे। पुराना अजेन्डा र पुरानो विचारले प्रतिगामी शक्तिसँग लड्न नसक्ने भएकाले नयाँ सोच, नयाँ विचार र नयाँ अजेन्डाका साथ अघि बढेको उनको भनाइ थियो।
“सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ,” प्रधानमन्त्री दाहालले भने, “सुशासन, समाजवाद र समृद्धिको यात्रामा सरकार अघि बढिसकेको छ, अब यसबाट सरकार पछि हट्दैन।”
विभिन्न अवरोध, अड्चनका बावजूद नक्कली भुटानी शरणार्थी घटनालाई छानबिन गरी निष्कर्षमा पुर्याइए जस्तै ललिता निवास काण्ड र सुन तस्करी काण्डलाई निष्कर्षमा पुर्याइने उनको भनाइ थियो। यस बाहेक सरकारले मधेशमा ठूलो समस्याका रूपमा देखिएको मिटरब्याज पीडितको समस्या ऐन बनाएर सम्बोधन गर्ने प्रयास गरिएको र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कामलाई अघि बढाएको प्रधानमन्त्री दाहालले बताए। लामो समयदेखि रोकिएको संघीय शिक्षा ऐन, संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसद्बाट पारित गरिने उनको भनाइ थियो।
संविधान निर्माणका क्रममा आफ्नो पार्टीले केही असहमति राखेर पास गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले संविधानमा रहेको त्रुटि सच्याउन र संविधानलाई व्यवस्थित रूपमा संशोधन गर्न सरकार, सदन र सडक तीन वटै मोर्चाबाट पहल र प्रयास आवश्यक रहेको जिकिर गरे।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अझै संविधानको अपव्याख्या गर्ने र सङ्कटमा पार्ने काम भइरहेकाले संविधानको रक्षा गर्न चारदलीय समाजवादी मोर्चा बनाएको बताए। जनताको जीवनस्तरमा परिवर्तन ल्याउन र समृद्ध मुलुक बनाउनु मोर्चाको पहिलो कार्य नीति रहेको उल्लेख गर्दै नेपालले भने, “अब कुनै पनि व्यक्ति दुखित हुन नपरोस्, अपमानित महसूस गर्न नपरोस्, बेरोजगारी नहोस् भन्ने चाहनाका साथ मोर्चा बनाएका छौं।”
त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिताको संस्थागत गर्दै सफल कार्यान्वयनका लागि समाजवादी मोर्चा बनाएर अघि बढेको बताए। बलिदानबाट प्राप्त उपलब्धि सङ्कटमा पर्न लागेकाले त्यसको रक्षाका लागि मोर्चा बनाउनुपरेको उनको भनाइ थियो।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषतायुक्त समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यका साथ मोर्चा बनाएको बताए। दलाल पूँजीवादले मुलुकलाई निकास दिन नसक्ने भएकाले त्यसका विरुद्ध समाजवादी मोर्चा लाग्ने उनको भनाइ थियो।
मधेश प्रदेशस्तरीय मोर्चा घोषणा
समाजवादी मोर्चाले मधेश प्रदेशस्तरीय समाजवादी मोर्चाको घोषणा गरेको छ। मोर्चाद्वारा वीरगन्जमा आयोजित सन्देश सभामा मोर्चामा आबद्ध चारवटै दलबाट तीन-तीन जना रहने गरी १२ सदस्यीय मधेश प्रदेशस्तरीय मोर्चाको घोषणा गरिएको हो।
मोर्चामा माओवादीबाट लीलामणि पोखरेल, अशोक जयसवाल र रामकुमार शर्मा, एकीकृत समाजवादीबाट धर्मनाथ साह, रामचन्द्र झा र सुधीर साह, जनता समाजवादी पार्टीबाट लालबाबु राउत, शैलेन्द्रप्रसाद साह र हरिनारायण यादव र नेकपाबाट सुदर्शन सिंह, विनोद सिंह र रामकुमारी सिंह छन्।
प्रदेशस्तरीय मोर्चाको संयोजक पनि ६-६ महीनामा फेरिने र पहिलो कार्यकालका लागि प्रदेश संयोजकको जिम्मा जसपालाई दिइएको माओवादीका नेता प्रह्लाद बुढाथोकीले बताए।