‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
‘इतिहास लेखन जसरी भइरहेको छ, त्यसले पनि असन्तुष्ट बनाउँछ। जोकोहीले जेसुकै कुरा पनि लेखिदिएका छन्।’
संशोधन मण्डलका सदस्य, इतिहास-प्रधान पत्रिका पूर्णिमाका सम्पादक तथा लेखक हुन्, ऐतिहासिक महेशराज पन्त। नेपाली, संस्कृत, अंग्रेजी र हिन्दी लेख्न-पढ्न सक्ने पन्त नेवारी, जर्मन, फ्रेन्च, मराठी र बंगाली भाषामा पनि दख्खल राख्छन्।
२०० भन्दा बढी शोधलेख तथा आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका उनको अनुवाद र सम्पादनमा हालै राजा, राणा र काङ्ग्रेस प्रकाशनमा आएको छ। पिताजी नयराज पन्तले संस्कृतमा लेखेको डायरी (२००७ कात्तिक-२००८ चैत) को उनले नेपाली अनुवाद गरेका हुन्। यही पुस्तकको अनुवाद तथा तयारी र विषयवस्तुबारे हिमालखबरको पाक्षिक प्रस्तुति किताबका कुरामा पन्तसँग अनिता भेटवालले गरेको कुराकानीको सम्पादित अंशः
राजा, राणा र काङ्ग्रेस कति वर्ष लगाएर अनुवाद गर्नुभयो?
यो किताब मैले एकै पटक सरासर लागेर अनुवाद गरेको होइन। अनुवादको काम २०४० सालदेखि थालेको थिएँ, अन्त्य भने गत वर्ष मात्र भयो। यसरी जोडेर हेर्दा ३८ वर्ष खर्च गरिएछ। यसबीचमा अरू थुप्रै काम गर्दै यसलाई पनि निरन्तरता दिएको हुँ।
संस्कृतमा लेखिएको दैनिकी अनुवाद गरेर पुस्तकका रूपमा ल्याउने सोच कसरी आयो?
२००७ सालका बारेमा धेरै किताब आए। लेखहरू पनि आए। तर, ती एकाङ्गी छन्। एकथरीले कसैलाई उचालेका र अर्काथरीले थचारेका छन्। तर, पिताजीले लेख्नुभएको यस डायरीमा राणा, राजा त्रिभुवन र कांग्रेसीहरूको उस्तै आलोचना छ। यसकारण यो पुस्तक फरक भएकाले यसमा काम गर्न आकृष्ट भएको हुँ। फेरि यो किताब संस्कृतमा पनि लेखिएको छ। अहिले संस्कृतमा यस्ता किताब निस्किँदैनन्, धर्म, संस्कार र अध्यात्म लगायत विषयका मात्र निस्किन्छन्। संस्कृत भाषामा यसरी राजनीतिक घटनाको चित्रण गरिएको किताब नआउने भएकाले यसले तान्यो।
यो पुस्तक तयार पार्दाको अनुभव चाहिं कस्तो रह्यो?
यस डायरीका केही खण्ड २०४१ सालमा म ३९ वर्ष, पिताजी ७२ वर्षको हुँदा पूर्णिमा पत्रिकामा छापिएका थिए। त्यसपछि पिताजी छँदै अनुवादको काम थालें। केही अनुवाद उहाँलाई देखाएर सच्याएको पनि थिएँ। पछि ज्ञानगुनका कुरा पत्रिकामा दुई भाग छापिए। पूर्णिमामा डायरीको अंश छापिएपछि साहित्यकार देवीप्रसाद वनवासीले घनघोर आलोचना गर्नुभयो। उहाँले दरबारको पैसा खाएर बाबु-छोराले बीपीलाई होच्याए पनि भन्नुभयो। उहाँले बीपी कोइरालाको जीवनी लेख्नुभएको छ। तर, म खण्डन गर्नतिर लागिनँ। यो किताब खासमा राजालाई पनि अपच हुन्छ, कांग्रेसलाई पनि अपच हुन्छ र राणालाई पनि। त्यस वेला कम्युनिस्टहरू शक्तिशाली थिएनन्। अन्यथा उनीहरूको पनि आलोचना आउँथ्यो होला।
बौद्धिकता भनेकै यही हो। बौद्धिक व्यक्तिले कसैको पनि पक्ष लिंदैन। यो पुस्तक कसैलाई खुशी बनाउने उद्देश्य राखेर लेखिएको हैन। यो त पिताजीले त्यस वेलाको भावना उतार्नुभएको हो। २०४१ सालमा एकै पटक यो छाप्न सकिएन, त्यसैले अहिले ल्याइयो।
नयराज पन्तले यो दैनिकी संस्कृतमा लेखेको विषयमा कतिपयले बाहिरी मानिसले बुझ्ने डरका कारण गुप्त भाषाका रूपमा संस्कृतको प्रयोग भएको हो कि भन्ने शङ्का गरेका छन्। त्यस्तै हो?
त्यसो होइन। अहिले पृथ्वीनारायण शाहको दिव्योपदेशको भाषा नै तपाईं पढ्न सक्नुहुन्न। संस्कृत पुरानो भाषा हो। संस्कृत कम्तीमा ३०/३५ सय वर्षदेखि भारतखण्डको एकेडेमिक भागका रूपमा विकसित भएको छ। अहिले अंग्रेजीको प्रभाव परेर मात्र संस्कृतको महत्त्व घट्यो। तर, संस्कृतमा व्याकरण रत्तिभर तलमाथि हुँदैन। त्यसैले पिताजीले आफ्नो विचारको स्थायित्वका लागि संस्कृतमा लेख्नुभएको हो, कुनै डरका कारण होइन।
उहाँले डर नमाने पनि डायरीमा लेखिएका कुरा हेर्दा डर मान्नुपर्ने अवस्था पनि थियो कि?
भर्खर राणाशासनको अन्त्य भएको थियो। अलि अलि थियो कि!
पुस्तक सम्पादन गर्दाका चुनौती कस्ता थिए?
कतै कतै उहाँले लेखेका शब्दहरूको अर्थ पत्ता लागेन । खासगरी कविताको भागमा यो शब्दको अर्थ लागेन भनेर मैले टिप्पणी हालेको छु। लेख्ने मान्छे नै बितिसकेका कारण अस्पष्ट लागेका ठाउँमा खुलाउन पाइएन। अहिले छलफल गर्ने जमात त छैन, तर पनि मैले केहीलाई सोधेको थिएँ। तर, सबै पत्ता लागेन। जस्तो- नवीन शब्दको सङ्गति मिलाउन सकिएन। शब्दको अर्थ लागे पनि उक्त पङ्क्तिमा त्यसले के भन्न खोजेको भन्ने थाहा नभएको लेखिदिएको छु। यस्ता कुरा मैले लुकाएको छैन। थाहा नभएको कुरा उल्लेख गरिदिंदा भोलि पढ्न सक्नेले अध्ययन गर्न सक्छन्।
सात सालको परिवर्तनबारे थुप्रै पुस्तक लेखिएका छन्। कुनै पुस्तक क्रान्तिमा सहभागी व्यक्तिहरूबाट लेखिएको छ भने कुनै विशुद्ध इतिहासको हिसाबले। नयराज पन्त त्यो राजनीति उथलपुथलमा प्रत्यक्ष सहभागी देखिनुहुन्न। यो कोणबाट हेर्दा उहाँको डायरीे प्रकाशन किन आवश्यक पर्यो?
पिताजी राजनीतिमा कहिल्यै लाग्नुभएन। तर, राजनीतिको हरेक घटनाको अध्ययन, विश्लेषण र लेखन गर्नुहुन्थ्यो। २००७ सालतिर उहाँको व्यक्तित्व मानिसहरूको आँखा खिच्ने प्रकारको पनि थिएन। उहाँ रानीपोखरीको दरबार हाइस्कूलमा संस्कृतको अध्यापक हुनुहुन्थ्यो। त्यस वेला कलेज र विद्यालय पढाउने अध्यापक वा लेखपढमा लागेका कसैले तत्कालीन घटनाबारे पुस्तक निकालेका थिएनन्। तर, पिताजी ‘लो प्रोफाइल’ मा बसेर ती सबै हेरिरहनुभएको थियो। प्रायः संस्कृतका विद्वान्हरू परलोक सम्बन्धी कुरा गर्छन्। त्यस वेला संस्कृत पढेका मानिसमा राजनीतिक चेतना खासै हुँदैनथ्यो। गद्दीमा जो आयो, उसैको तारीफ गरेर लेख्थे। तर, यो डायरी फरक र अनौठो थियो।
‘लो प्रोफाइल’ मा बसेर २००७ सालका घटना हेर्ने त अरू पनि थिए होलान् नि!
थिए होलान्। तर, सबैले लेखेनन्।
डायरीमा नेपाली कांग्रेसलाई सुवर्णशमशेरकै पार्टीका रूपमा प्रस्तुत गरिएको छ। सुवर्णशमशेरको नाम बारम्बार आइरहन्छ। बीपी कोइरालालाई हेर्ने नयराज पन्तको दृष्टिकोण सकारात्मक थिएन भन्न सकिन्छ?
त्यो पनि हो। तर, यहाँनेर अर्को घटना पनि सुनाइहाल्छु। बीपीकी छोरी चेतनाको विवाह कमलमणि दीक्षितका भतिजोसँग भएको थियो, २०३६/३७ सालतिर। बीपीले पिताजी र अरू साथीहरूलाई पनि विवाहमा बोलाएका रहेछन्। पिताजी जानुभयो, अरू चाहिं राजाको आँखामा बिझाएको व्यक्तिकी छोरीको विवाहमा जान डराएछन्। अर्थात् पिताजी बोलाएको ठाउँमा सम्बन्ध राख्ने व्यक्ति पनि हो।
बीपीहरूको पहिलेका सबै आचारविचार भारतीय थियो। उनीहरूसँग पैसा पनि थिएन। सुवर्णशमशेरको आर्थिक सहयोग नभएको भए कांग्रेस अगाडि आउने थिएन। त्यही कारण पनि सुवर्णशमशेरको उल्लेख गर्नुभएको होला।
केवल आर्थिक सहयोगकै कारण बीपीभन्दा सुवर्णशमशेरलाई माथि राखिएको हो त?
त्यति मात्रले चाहिं नभनौं। तर, सुवर्णशमशेरलाई सबैभन्दा माथि पनि राख्नुभएको छैन। सुवर्णलाई त ‘दासीको छोरा भन्ने शब्द पनि प्रयोग भएको छ।
डायरीमा सुवर्णशमशेरप्रति चाहिं कस्तो दृष्टिकोण पाउनुहुन्छ?
डायरीमा पिताजीले सुवर्णलाई एक ठाउँमा गंगदत्त भन्नुभएको छ। पञ्चतन्त्रमा गंगदत्त नामक भ्यागुतोको कथा छ। उसलाई आफ्ना दाजुभाइले दुःख दिन्छन्। त्यसपछि गंगदत्तले सर्पलाई बोलाएर दाजुभाइहरूलाई खान लगाउँछन्। सुवर्ण पनि राणा खलकमा आफ्नो भूमिका खोसिएको आक्रोशमा कांग्रेसमा मिलेका हुन् भन्ने पिताजीको अभिप्राय: हो।
१९९० सालमा ‘सी’ वर्गका राणाहरूलाई भूमिका खोसेर धपाइएको थियो। त्यसबाट आक्रोशित उनीहरूले राणा शासक विरोधी क्रान्तिमा साथ दिएका थिए। राणाहरूलाई प्रजातन्त्र चाहिएको थिएन, आफ्नो शत्रुको मानमर्दन मात्र गर्नु थियो।
राजा त्रिभुवनप्रति पनि आलोचनात्मक दृष्टिकोण पाइन्छ नि!
राजा त्रिभुवनलाई त धेरै ठाउँमा बबुरा भन्नुभएको छ। केही पनि नचाहिने, केही पनि नजान्ने। पैसाको अभाव हुने तर विलासी। त्रिभुवन पनि विभिन्न बन्धनमा परेको हुनाले राणाको विपक्षमा लागे। भारतले पनि सहयोग गर्यो। यो डायरीको अनुवाद गर्दागर्दै एउटा कुरा मेरो मनमा आएको थियो। त्रिभुवनसँग भारत जाने राजपरिवारमा दुई रानी, तीन छोरा र दुई बुहारी र नाति वीरेन्द्र थिए भनिन्छ। ज्ञानेन्द्र त यतै मामाघरमा बसे। तर, धीरेन्द्र र वीरेन्द्रका तीन दिदीबहिनी कहाँ बसे? पुराना सबै किताब हेरें। एक-दुई जना बूढापाकालाई पनि सोधें। तर, उनीहरू सबैले यो पाटोमा ख्याल नै नराखेको बताए। उनीहरू कहाँ बसे, उनीहरूलाई गौण ठानेर पो उल्लेख नगरिएको हो कि, यो विषय आजसम्म कसैले खुलाएको छैन। यस्ता कुरा चाहिं खोज्नुपर्छ।
पिताजीले त्रिभुवनबारे धेरै व्याख्या गर्नुभएको छैन। तर, डायरीमा ‘अदृष्टकृय’ भन्ने शब्द प्रयोग गर्नुभएको छ। जसको अर्थ हुन्छ, ‘कुनै पनि ज्ञान नभएको’।
डायरीमा राजा, राणा र कांग्रेसको विषय उधिन्दै गर्दा उहाँले कसैले पनि देश बनाउन नसकेको टिप्पणी गर्नुभएको छ। देश कसरी बन्थ्यो वा कसरी बनाउनुपर्थ्यो भन्नेमा उहाँको विचार के थियो?
पिताजीले राणाशासन ढल्नुको कारण कमजोर सैन्य शक्तिलाई औंल्याउनुभएको छ। त्यति सजिलै ढल्ने शासन थिएन, सैन्य शक्ति कमजोर भएकै कारण ढल्यो। पञ्चायत त राणाशासनभन्दा झनै सजिलोसँग ढल्यो र राजतन्त्र पनि सजिलै ढल्यो। पिताजीले राणाशासन ठीक हैन भनेर ठाउँ ठाउँमा लेख्नुभएको छ। शिक्षाबारे चर्चा गर्दा उहाँले यो शिक्षा पद्धतिको साटो अर्को ठीक भनेर विकल्प पनि दिनुभएको छ। तर, राजा, राणा र कांग्रेसलाई खराब भन्दै गर्दा उनीहरूले चलाएको शासनको बदलामा अर्को कुन ठीक भन्नुभएको छैन।
फेरि, यी तीन वटै शासनमा भ्रष्टहरू नहुँदा हुन् त सबै आआफ्नो ठाउँमा ठीक थिए भन्ने पनि उहाँको विचार छ नि!
त्यो पनि हो। त्रिभुवनले शासन नै गर्न पाएनन्। राणाहरू त सकेसम्म धन कमाउनतिर लागे। यता, गणेशमान सिंहले मापदण्डभन्दा बढी जग्गामा ठूलो घर बनाउने बित्तिकै कानून नै संशोधन गरियो। त्यसैले सबै शासकको उस्तै ध्याउन्न पाइन्छ। ऐनमा काठमाडौंमा १२ रोपनीसम्म जग्गा राख्न पाउने प्रावधान थियो, तर गणेशमानको १२ रोपनी नाघ्यो। अनि उनीहरूले ऐन नै संशोधन गरिदिए। अर्कातिर, गणेशमानले त्यो घर आफ्नै पैसाले किनेको भन्ने पनि देखाउन खोजिएको छ। आमा र श्रीमतीका गहना बेचेर किनेको भनिएको छ।
हामीले चाहिं राजा त्रिभुवनले किनिदिएको भन्ने सुनेका थियौं। यिनको मात्र होइन, हिसिला यमीका बा धर्मरत्न यमीको घर पनि त्रिभुवनले किनिदिएको भन्थे। हामी काठमाडौंकै बासिन्दा भएकाले उनीहरूको आर्थिक स्थिति पनि थाहा छ। गणेशमानहरू पनि खानदानी धनी होइनन्। उनका जेठो बाजे रत्नमान सिंह अर्दली (पियन)बाट बढुवा हुँदै बडाकाजी भएका थिए। गणेशमानका बाजे चाहिं रत्नमानका भाइ थिए। दाजुले आफ्नो पौरखले कमाउँदैमा भाइ त धनी हुँदैन। यसकारण गणेशमानको परिवारसँग त्यस्तो पैसा छ भन्ने पनि मलाई लाग्दैन। मसँग प्रमाण त छैन, तर उनलाई त्रिभुवनले दिएको भन्ने लाग्छ।
यसको अर्थ यी तीन वटाकै शासन भ्रष्ट थिए?
हो, निश्चय पनि।
यो पुस्तक पढ्दा दुई वटा पाटो पाएँ। एउटा, नयराज पन्तको डायरी। अर्को, तपाईंको सम्पादकीय भूमिका। एक पुत्रका रूपमा भन्दा पनि यस पुस्तकको सम्पादकको आँखाबाट हेर्दा सात सालको परिवर्तनबारे नयराज पन्तको दृष्टिकोणको कसरी विवेचना गर्नुहुन्छ?
२००७ सालको परिवर्तनबारे पिताजीले एक श्लोक लेख्नुभएको छ। राणाहरूले यो जातजातिलाई दबाएर राखेका थिए, अब त्यो सम्भव छैन भनेर लेख्नुभएको छ। त्यसपछि समानता भन्ने शब्द आयो। तर, त्यो व्यवहारमा अझै लागू भएको छैन। २००७ सालमा पनि राणाहरूको शासन मात्र हट्यो। २००७ सालमा पहिलो मन्त्रिमण्डल कांग्रेस र राणाकै भयो। उनीहरू अहिलेसम्म पनि शक्तिशाली छन्। सागरशमशेर जबराको पुस्तक किङ्डम लस्ट हेरें। बीपीलाई मार्न जाने गोर्खा दलका भरतशमशेरहरू पछि त्यही कांग्रेसमा गए। सागरशमशेर पनि अहिले कांग्रेसमा छन्। यिनीहरू प्रजातन्त्रप्रतिको आस्थाले आएका होइनन्। राजा महेन्द्रले यिनको दरबार खाइदिए। त्यो रिसले पनि गए। जसरी सुवर्णशमशेर कांग्रेसी भए, तर कांग्रेसको सिद्धान्तमा गएका हैनन्।
त्यसैले मैले देखेको, पिताजीले सबैको आलोचना गर्नुभयो। उहाँले आलोचना गरेर पनि कस्तो शासन चाहिन्थ्यो भन्नुभएन, भन्न सक्नुभएन। पिताजीले एउटा पर्यवेक्षकका रूपमा हेर्नुभयो। हेर्दा चित्त बुझाउनुभएन।
पिताजीले राजा, राणा र कांग्रेसको आलोचना गर्नुभयो, तपाईंको विचार पनि उही हो?
त्यो ढङ्गले मैले सोचेको छैन। पछिकै कुरा गर्दा बीपीले ‘राजा र मेरो घाँटी जोडिएको छ’ भने। त्यो कुरा उनको बाध्यता पनि हो। राजतन्त्र र प्रजातन्त्र एकै ठाउँमा बस्नै सक्दैनन्। कतिपय भन्छन्- बीपी र महेन्द्र मिलेको भए देश बन्थ्यो। तर, ती दुई फरक आदर्श हुन्। महेन्द्रको आदर्शमा वंश परम्परा अनुसार उनी राजाको छोरा भएर राजा भएका हुन्। बीपी राजाको छोरा भएर प्रधानमन्त्री भएका हैनन्।
अस्तिसम्म राजतन्त्र छँदा ज्ञानेन्द्रसँग सम्झौता गरेर सबै बसेका थिए। अहिले ठूला कुरा गर्छन्। राम्रो दृष्टि भएका त बीपी पनि होइनन्। समाजवाद भन्ने धेरै विशाल शब्द छ। तर, यिनीहरूलाई कम्युनिज्म भन्न नहुने, तर समाजवाद भन्नुपर्ने रे। यस्तै छ यहाँ।
बीपीले भारतको विश्वविद्यालयलाई दिएको पाँच हजार रुपैयाँले पनि उनीमाथि नयराज पन्तले विभिन्न संशय गर्नुभएको हो कि?
त्यो पनि हुन सक्छ। त्यो पैसा दिएको र शङ्का गरिएको कुरा त उतिवेलै भारतीय अखबारले पनि लेखेको थियो। केशवशमशेरको दरबारमा बीपीलाई बोलाइन्थ्यो र राणाको छोरीचेलीसँग कानाकाना पिच्चा खेलाइन्थ्यो। त्यसै वेला बीपीले भ्रष्टाचार गरेको झल्काउने एउटा फोटो पनि थियो, तर अहिले मैले भेटिरहेको छैन।
नेपालीहरू गरीब छन्, तर पैसा अहिले यिनीहरूकै हातमा छ। सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र अलि पछि आउँथ्यो होला। सात सालको क्रान्तिमा भारतले पनि कांग्रेसलाई सहयोग गरेको थियो। पैसा त राणाकै, सुवर्णशमशेरकै हो।
महात्मा गान्धी सत्यवादी र अहिंसाप्रेमी भन्ने आम दृष्टिकोण पाइन्छ। नयराज पन्तको आँखाबाट यसको ठीक विपरीत चित्रण देखिन्छ नि!
भारतले उपनिवेश शासन भोगिरहेको वेला अंग्रेजलाई हटाउनुपर्छ भन्ने अरू नेताहरू पनि थिए। कति त उग्रवादी भएकाले अंग्रेजले मारेको थियो। खासमा उनी अंग्रेजका मान्छे हुन्। उनले प्रथम विश्वयुद्धमा अंग्रेजलाई युद्ध लड्न सेना जम्मा गरिदिए। गान्धीको ‘भारत छोडो’ अभियानका कारण भारत स्वतन्त्र भएको हैन। पहिलो र दोस्रो विश्वयुद्धपछि अंग्रेजको साम्राज्य कमजोर भयो। गान्धीले पगरी मात्र गुथेका हुन्।
व्यक्तिगत रूपमा गान्धी एकदमै इमानदार मान्छे हुन्। उनले आफ्नो परिवारका लागि केही पनि सोचेनन्, तर उनमा ज्ञान थिएन। उनले शास्त्र पढेका थिएनन्। उनी अहिलेको भाषामा एसएलसी पास गरेर कानून पढ्न गएका थिए। मेरो विचारमा, जबसम्म संस्कृतको राम्रो ज्ञान हुँदैन, राम्रो निर्णय गर्न सकिंदैन। भएको त्यही हो।
गान्धीवादको आन्दोलनले नेपालमा असर पारेको पुस्तकमा लेखिएको छ। त्यो कस्तो प्रभाव थियो?
हामीकहाँ जयतु संस्कृतम् आन्दोलनको अपव्याख्या भएको छ। जयतु संस्कृतम्ले सबैभन्दा पहिले राणाशासनको विरोध गर्यो भन्ने बुझाइ छ। २००४ सालमा जयतु संस्कृतम् आन्दोलन उठ्नुअघि नेपालमा जो मानिस संस्कृत पढ्थे, उनीहरू आफूलाई लेखनबाट राम्रोसँग व्यक्त गर्न सक्थे। २००४ सालपछि त्यस्तो क्षमतावान् मान्छे खोज्नुपर्छ।
त्यस वेला संस्कृतलाई आधुनिकीकरण गर्नुपर्छ भन्ने माग उठ्यो। तर कसरी गर्ने? विद्यार्थीले इतिहास, भूगोल पनि पढ्न पाउनुपर्ने माग राखे। त्यो सामान्य ज्ञानको कुरा हो, त्यसका लागि त्यत्रो आन्दोलन गर्नुपर्ने नै थिएन। भारतमा गान्धीको आन्दोलन नभएको भए हामीकहाँ यस्तो प्रभाव पर्दैनथ्यो।
पुस्तक लेखनको सन्दर्भमा फर्कौं। पुस्तकमा तपाईंले प्रशस्त विशेषणको प्रयोग गर्नुभएको छ। जस्तै- नयराज पन्तलाई एक ठाउँमा ‘शताब्दीको सबैभन्दा अग्लो नेपाली’ र अर्को ठाउँमा ‘गणितज्ञ’ भन्नुभएको छ। अर्कोतिर, बीपीलाई ‘प्रयोक्तृचूडामणि’ भन्नुभएको छ। विशुद्ध प्राज्ञिक लेखनमा यस्तो विशेषण प्रयोगको आवश्यकताबारे व्याख्या गरिदिनुहोस् न।
‘शताब्दीको सबैभन्दा अग्लो नेपाली’ भन्ने पदावली मदनमणि दीक्षितको हो। मैले त किताबमा लिएको मात्र हुँ। ‘गणितज्ञ’ त पिताजी हुनुहुन्थ्यो नै। बीपीको सन्दर्भमा ‘प्रयोक्तृचूडामणि’ भनेको छु। प्राचीन राजनीतिशास्त्र अनुसार राजनीतिमा प्रयोग हुने दुई वटा शब्द छन्। एउटा वक्ता, अर्को प्रयोक्ता। वक्ता भनेको राजनीतिको सिद्धान्त खडा गर्ने पक्ष हो। जस्तो, वक्ताले पूँजीवाद सिद्धान्त खडा गर्छन्। प्रयोक्ता भनेका राजनीतिमा लागेका मानिसहरु हुन्। ‘प्रयोक्तृचूडामणि’ बीपीलाई प्रशंसा गरेरै भनेको हुँ। बीपीलाई राजनीतिमा लागेको सबैभन्दा उच्च व्यक्ति भनेको हुँ।
यो प्रयोग गर्नुको कारण यस्ता संस्कृत शब्द अहिले हराउँदै गएका छन्। यस्ता प्राविधिक शब्द भएकाले पुनरुत्थान पनि गरेको हुँ। फेरि, यो विशुद्ध प्राज्ञिक लेखन पनि होइन।
तपाईंले नयराज पन्तले नेपालका त्यति वेलाका कसैलाई पनि श्रद्धाभावले नहेर्ने उल्लेख गर्नुभएको छ। उहाँलाई आफ्नो समयप्रति असन्तुष्ट भन्न मिल्छ?
अवश्य भन्न मिल्छ। कतिसम्म भन्ने कुराको मापन त नहोला। तर, म पनि आफ्नो समयप्रति असन्तुष्ट छु। खासमा अल्पज्ञान भयो भने सन्तुष्ट भइन्छ। सबै जानेपछि आलोचना गरिन्छ र त्यो आलोचनाले व्यक्तिलाई एक्लो बनाउँछ।
मलाई खासगरी राजनीतिक घटनाका कारण दिक्क लाग्छ। इतिहास लेखन जसरी भइरहेको छ, त्यसले पनि असन्तुष्ट बनाउँछ। जोकोहीले जेसुकै कुरा पनि लेखिदिएका छन्।
इतिहास लेखनको कुराले असन्तुष्ट बनाएको भन्नुभयो। त्यसो भए नेपाली इतिहास कसरी लेखिनुपर्छ?
नेपालसँग लेखेका कुराको मात्र हिसाब गर्दा कम्तीमा दुई हजार वर्षको इतिहास छ। लिम्बूहरूको इतिहासबारे भगिराज इङ्नामले लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह लेख्नुभयो, जसले मदन पुरस्कार पनि पायो। इतिहास लेखनमा यस्ता सामग्री आउनुपर्यो। इतिहासका स्रोतहरू आउनुपर्यो। उहाँले सामग्री गाउँठाउँबाट खोजेर ल्याउनुभयो। त्यसरी इतिहासको स्रोत नै ल्याइदिएपछि अध्ययन गर्नेले त्यसकै आधारमा काम गर्न सक्ने भए। तर, अहिले चाँगुनारायणको अभिलेखमा यस्तो छ भन्ने तर पढ्न नसक्नेले इतिहासले लेख्न थाले। अरूले गरेको उल्थालाई आधार मानेर लेख्न थाले।
नेपालभरका गाउँघरमा यस्ता धेरै इतिहासका स्रोत छन्, त्यो आउनुपर्यो। अहिले बाहुन–क्षेत्रीले लिम्बुवानलाई थिचोमिचो गरे भन्ने कुरा आएको छ। त्यहाँ शोषण त भएकै हो। तर, त्यो कसरी गरे, बाहुनहरू त्यहाँ कहिले पुगे भन्ने प्रमाण छैन। बाहुनहरूले लिम्बुको जमीन कसरी खोसे भन्ने भेटिएन। त्यसैले पहिले हामी स्रोत खोजौं।
नयराज पन्तको डायरी र त्यसको सम्पादनमा तपाईंले खेलेको भूमिकाबाट नेपाली प्राज्ञिक जगत्ले के सिक्न सक्छ?
कसैको पुरानो किताब पाउनुभयो भने त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने यस लेखनबाट लिन सकिन्छ। पुरानो मान्छेको किताब छाप्दा यथार्थ सबै राखिदिनुपर्छ। सम्पादन गर्दा आफूलाई कतै गल्ती लागेको छ भने लेखकीय ग्रन्थभित्रै हाल्न पाइँदैन, आफ्नो भाषामा सच्याएर अन्तै लेख्नुपर्छ। मैले यही आदर्शबाट काम गरेको छु।
यो किताबको सन्दर्भमा, लगानी भएको भए पिताजीको हस्ताक्षर सहितको डायरीको सबै सक्कल फोटो राख्थें। तर, केही नमूना त हालेको छु।
पुस्तकसँग जोडिएका केही इच्छा पनि छन् कि?
यो किताबमा प्रकाशकले डायरीको मूल संस्कृत नराखौं भनेका थिए। तर, त्यो नराखे मेरो अनुवादको मूल्याङ्कन कसरी गर्ने भनेर हाल्न लगाएँ। अब यदि जान्ने हो भने संस्कृत विश्वविद्यालयले संस्कृतमा पनि आधुनिक विचार र भावना व्यक्त गरिंदा रहेछन् भनेर पाठ्यपुस्तकमा पनि राख्न सक्छन्। तर, उनीहरूले यो हेर्दा पनि हेर्दैनन्। म पनि भन्नेवाला छैन। अहिले हरेक १५ दिनमा गोरखापत्रमा संस्कृतमा सामग्री आउँछ। तर, उनीहरूलाई यस्ता सामग्रीको वास्ता छैन।
३८ वर्षसम्म यो डायरी साथमा लिएर हिंड्दाको अनुभव कस्तो थियो?
यतिका वर्ष हुँदा मैले पिताजीको डायरीका शब्द शब्द केलाएको छु। शब्द शब्दमा समय खर्चिएको छु। पिताजीको सामग्री प्रकाशनमा ल्याउनुपर्छ भन्ने भावनाले पनि यतिका वर्ष यसमा अडिएँ। तर, त्यो वेला र अहिले समय धेरै परिर्वतन भयो। ३८ वर्षअघि सँगै काम गर्नेहरू आज कहाँ कहाँ पुगे।
मैले आफैंले प्रकाशन गरेको भए यस्तो प्रचार हुने थिएन भन्ने लाग्छ। व्यावसायिक प्रकाशन गृहले गर्दा चर्चा भयो। पिताजीको २००९ सालको डायरी पनि छ। जसमा विभिन्न घटना उल्लेख छन्। गणेशमान सिंहले मन्त्री हुँदा गरेका बदमासी छन्। नारदमुनि थुलुङ त्यस वेला खाद्यमन्त्री थिए, जो जेल परेका रहेछन्। अब त्यो पूर्णिमामा छाप्न मन छ।
यो सम्पादनको काम गर्दा तपाईंलाई रोचक लागेको डायरीको कुनै घटना वा पिताजीले सुनाएको घटना छ कि?
२००८ सालमा काठमाडौंमा ठूल्ठूला नेताहरू बढार्न गएछन्। त्यस क्रममा बालकृष्ण सम, केदारमान व्यथित, रुद्रशमशेरहरू गएछन्। समले त्यसको अघिल्लो दिन मेरा पिताजीलाई भेटेर बढार्न आउनुहोस् भनेछन्। पिताजीले ‘हजुर त च्यामे हुनुभो, म चाहिं हुँदिनँ’ भनिदिनुभयो रे। उनीहरू तलब चाहिं मन्त्रीको खाने, अनि हामी पनि तिमीहरू जस्तै हौं भनेर च्यामेलाई सहानुभूति दिन मात्र गएका रहेछन्।
पिताजीले निडर भएर त्यस वेलाका धेरै लेखकबारे लेख्नुभएको छ। बालकृष्ण सम एक नम्बरको अवसरवादी हुन् भन्ने कुरा आएको छ। २०१८ सालमा कांग्रेसीहरूको विद्रोहमा समका ज्वाइँ चितवनमा मारिएपछि उनले राजा महेन्द्रलाई भेटेर ‘सरकार कुलंगार चाहिं मारियो, ज्वाइँको जूठो बारौं कि नबारौं’ भनेछन्।
महेन्द्रले ‘तपाईंले त ज्वाइँको तीन दिन बारे पुग्छ, मेरो त आफ्नै १३ दिने दाजुभाइ, राजकाज भनेको अर्कै हो, म पनि १३ दिन बार्छु तपाईं पनि बार्नुस्’ भनेपछि समले पनि, ‘हस् त सरकार म पनि त्यसै गर्छु’ भनेका थिए रे। त्यस्ता किस्सा पनि छन्।
अन्त्यमा, तपाईंका आगामी योजना के के छन्?
संशोधन मण्डलको व्यवस्थापन गर्नु छ। संशोधन मण्डलका सामग्रीहरू डिजिटाइजेशनको काम भइरहेको छ। मेरो धेरै समय यसैको व्यवस्थापनमा खर्चिएको छु। सबै छोराछोरी विदेशमा भएकाले किताबहरू घरमै राखेको छु। उनीहरू आए भने किताब राख्ने ठाउँ हुँदैन। यसकारण यसको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ।
अस्ति संस्कृति मन्त्री सुदन किरातीलाई भेटें। उनले यस वर्ष पैसा आउँदैन भने। १२/१३ जना कर्मचारी थिए, अहिले आठ जनामा घटाएको छु। तिनलाई तलब र अर्को घरभाडा तिर्न मासिक दुई लाख रुपैयाँ चाहिन्छ। त्यसैको आर्थिक जोरजामका लागि आफ्नो प्रकाशनका पुस्तकहरू बिक्री गर्न संशोधन मण्डलकै कार्यालयमा पसल पनि खोलिएको छ। डिजिटाइजेशनको काम सकिएपछि सबै अनलाइनमा राखिदिन्छु। त्यहाँबाट पनि केही सहयोग मिल्ला भन्ने आशा छ।
संस्कृत साहित्यमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकबारे लेखिएका कुराबारे किताब तयार पार्दै छु। यही वर्षभित्र आउँछ।
-बीपी पुत्री चेतनाको बिहेको मिति फरक परेकाले सच्याइएको छ।
किताबका कुराका थप सामग्री: