धरान उपमहानगरमा निषेधाज्ञा जारी
स्थानीय प्रशासनले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार सूचना प्रकाशित गरी निषेधाज्ञा जारी गरिएको जनाएकी छन्। भदौ ८ गते राति १२ बजेदेखि भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो।
धरानमा डेंगी रोगको संक्रमण फैलिंदै गएको र जिल्ला विपद् व्यवस्थापन समितिले ‘जनस्वास्थ्य आपत्कालीन अवस्था’ घोषणा गर्न सिफारिश गरेको छ। जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाएकी छन्।
सूचनामा भनिएको छ, ‘अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेला, प्रदर्शन लगायत कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण वडा लगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको बेहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’
धरान उपमहानगरका सबै वडासँगै धरान प्रवेश गर्ने पश्चिमी बाटो बराहक्षेत्र नगरपालिका-१ मा पर्ने झन्डा चोकदेखि धरानतर्फको क्षेत्र, रामधुनी नगरपालिका-६ बाट बराहक्षेत्र नगरपालिका-३, नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।
त्यस्तै, इटहरी नगरपालिका-२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान-५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका-६, भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको हो।