नेपाल फाइनलमा हङकङसँग भिड्ने
समूह चरणको अन्तिम खेलमा मलेशियासित पराजित भए पनि नेपाल फाइनलमा पुगेको छ।
चार देश सम्मिलित महिला टी-२० शृङ्खलाको फाइनलमा अब नेपाल र हङकङले प्रतिस्पर्धा गर्ने भएका छन्। फाइनल खेल शनिबार हुनेछ।
समूह चरणका खेल सकिंदा नेपाल, हङकङ र मलेशियाको समान चार-चार अङ्क भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन्। तीनै टोली समूह चरणका दुई-दुई खेलमा विजयी भएका थिए।
मलेशियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा शुक्रबार पहिले ब्याटिङ गरेको नेपालले ८३ रन बनायो। वर्षाका कारण १८ ओभरमा सीमित खेलमा नेपालले सात विकेटको क्षतिमा उक्त योगफल तयार पार्यो।
मलेशियाले ८४ रनको विजय लक्ष्य १६.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको हो। मलेशियाका लागि अइना हसिमले अविजित ३७ तथा इजाती इम्माइलले २१ रन बनाए।
नेपालका लागि पूजा महतो, रुबिना क्षेत्री बेलबासे र सीता राना मगरले एक-एक विकेट लिए।
यसअघि नेपालका लागि ब्याटिङ गर्दै कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रन बनाएका थिए।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो। नेपालसँगै मलेशिया, हङकङ र कुवेतले महिला टी-२० शृङ्खला खेलिरहेका छन्।