अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प दुई लाख डलर धरौटीमा रिहा
अमेरिकाको दक्षिणी राज्य जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दुई लाख डलर धरौटीमा रिहा भएका छन्।
अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका ट्रम्पले आज बिहान आत्मसमर्पण गरेका थिए। उनी फुल्टन काउन्टी जेलमा ३० मिनेट जति बसेका थिए। फौजदारी अभियोग लागेकाहरूको औंठाछाप दिन र अनुहारको तस्वीर खिचाउने काममा अमेरिकी इतिहासमै पहिलो पटक पूर्व राष्ट्रपतिका रूपमा ट्रम्पको नाम दर्ज भएको हो।
यो क्षण अमेरिकाका लागि दुःखद भएको दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय एनेनबर्ग स्कूल अफ कम्युनिकेसन्सका प्राध्यापक मार्टी कपलान बताउँछिन्। भविष्यमा इतिहासका पुस्तकमा पूर्व राष्ट्रपति ट्रम्पको त्यो आपराधिक छवि स्थायी तस्वीर भएर रहने उनले टिप्पणी गरिन्।
कानून कार्यान्वयन गर्ने फुल्टन काउन्टी कार्यालयले अपराधको आरोप लागेका एक सामान्य नागरिकका रूपमा सार्वजनिक गरेको पूर्व राष्ट्रपतिको तस्वीरमा उनी निकै रिसाएको जस्तो देखिएका छन्। हल्का खैरो पृष्ठभूमिमा खिचिएको तस्वीरमा ट्रम्पले नीलो सूट, सेतो शर्ट र रातो टाई लगाएका छन्। उनको काँधको ठ्याक्कै माथि शेरिफको प्रतीक चिह्न पनि देखिन्छ।
७७ वर्षीय पूर्व राष्ट्रपतिले आफू दोषी नरहेको दाबी गरेका छन्। यद्यपि उनीलाई जर्जियामा जो बाइडेनले पाएको मतपरिणाम उल्टाउने प्रयास गरेको आरोप लगाइएको छ।
उक्त कार्यालयले जारी गरेको तस्वीर आफ्नो सामाजिक सञ्जाल र चुनावी अभियान वेबसाइटमा पोस्ट गर्दै उनले आफूले केही गलत नगरेको र आफूमाथि निराधार आरोप लगाइएको उल्लेख गरेका छन्। राजनीतिबाट प्रेरित भएर आगामी निर्वाचन सहभागी हुनबाट रोक्ने उद्देश्यले आफूमाथि उक्त अभियोग लगाइएको ट्रम्पको दाबी छ।
अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि चार पटक आपराधिक रूपमा अभियोग लगाइएको छ तर उनी आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढेका छन्। जर्जियामा उनीलाई जालसाजी गरेको, सरकारी अधिकारीलाई झूटो बयान दिन अभिप्रेरित गरेको लगायत चार वटा मुद्दा दायर गरिएको छ।
यसअघि उनलाई वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियलसँग यौनसम्बन्ध राखेको, त्यसलाई सार्वजनिक नगर्न निजलाई ठूलो रकम भुक्तान गरेको, निजी निवासमा गोप्य सरकारी कागजात राखेको र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको थियो।
६ जनवरी २०२० मा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनुका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका १५० जना सुरक्षाकर्मी घाइते भएका थिए। त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ।