‘आइफोन’ उपहार पाउने लोभमा फस्दा करीब ५० लाख ठगियो
ठगीमा संलग्न रहेको आरोपमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित पक्राउ परेका छन्। उनीहरूबाट ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरण समेत बरामद गरिएको छ।
‘आइफोन’ उपहार पाउने लोभमा फस्दा केही महिलाहरूको झन्डै आधा करोड रकम गुमेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार शुरूमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबूक, वाट्सएप लगायतबाट सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कस्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरेका थिए।
यसपछि आइफोन पाउने लोभमा पीडित महिलाहरूले धमाधम गिरोहले भनेको ब्यांक खातामा पैसा पठाए। झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए। त्यसपछि बल्ल ठगिएको चाल पाएका पीडितहरूले साइबर ब्यूरोमा जाहेरी दिए।
जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट झन्डै आधा करोड रकम ठगी भएको फेला परेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार राय बताउँछन्। ‘तपाईं लक्की हुनुभएको छ। तपाईंले लक्की ड्र मार्फत आइफोन जित्नुभएको छ। हामी आइफोन पठाउँदै छौं। कस्टम क्लियरेन्सका लागि हामीलाई पैसा पठाउनुपर्छ’ भनेर पीडित महिलालाई विभिन्न ब्यांक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको ब्यूरोमा जाहेरी परेको रायले बताए।
यसरी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर कुपन्डोलबाट रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डितलाई पक्राउ गरेको छ। उनीहरूबाट ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरण समेत बरामद गरिएको छ। यस्तै, सात थान मोबाइल, १८३ थान सिमकार्ड र १२ थान एटीएम कार्ड समेत बरामद गरिएको छ।
उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।