बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध
गाउँपालिकाकी उपाध्यक्ष लामिछानेले भनिन्, “वर्षा नरोकिएकाले विद्यालय सहित ग्याल्थुम बजार नै जोखिममा छ।”
अविरल वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकका हेलम्बु, मेलम्ची क्षेत्रमा क्षति पुर्याएको छ। मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची-हेलम्बु सडक अवरुद्ध छ।
हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्य अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन। मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए।
निरन्तर वर्षाका कारण हेलम्बु-४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय पनि बाढीले बगाएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन्।
“अहिले विद्यालयका फर्निचर लगायत सामान सार्ने काम भइरहेको छ,” गाउँपालिकाकी उपाध्यक्ष लामिछानेले भनिन्, “वर्षा नरोकिएकाले विद्यालय सहित ग्याल्थुम बजार नै जोखिममा छ।” पानी पर्न शुरू गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
बाढीले ग्याल्थुममा परीक्षा दिन जाने परीक्षार्थीलाई समेत समस्या भएको स्थानीय श्याम लामिछानेले बताए। -रासस