वाग्नर समूह झनै खतरनाक बन्ने त्रास
रूसको भाडाका लडाकूहरूको समूह वाग्नरका प्रमुख प्रिगोजिन विमान दुर्घटनामा मारिएसँगै यो समूह राष्ट्रपति पुटिनको प्रत्यक्ष नेतृत्वमा जाने आशङ्का गरिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अहिले रूसमा भएको एउटा विमान दुर्घटनाको समाचार र त्यससँग जोडिएका विश्लेषणले स्थान पाइरहेका छन्। १० जना सवार निजी जेट विमान दुर्घटनाले महत्त्व पाउनुको कारण हो, त्यसमा सवार यात्रु।
दुई महीनाअघि रूसको सत्ता विरुद्ध विद्रोह गरेको भाडाका लडाकूहरूको समूह वाग्नर ग्रूपका प्रमुख इभ्गेनी प्रिगोजिन विमानमा सवार रहेको र सबै यात्रुसँगै उनको पनि मृत्यु भएको विश्वास गरिएको छ। भदौ ६ मा मस्कोको उत्तर-पश्चिममा विमान दुर्घटना भएको रूसको सङ्कटकालीन मन्त्रालयलाई उद्धृत गर्दै द मस्को टाइम्सले समाचार प्रकाशन गरेको छ।
रूसी अधिकारीहरूले डीएनए परीक्षण मार्फत उनको मृत्यु भइसकेको पुष्टि गरिसकेका छैनन्।
को हुन् प्रिगोजिन?
६२ वर्षीय प्रिगोजिनको उदय नै अपराध कर्मबाट भएको थियो। सन् १९८१ मा डकैतीमा संलग्न भएको आरोपमा पक्राउ परेका उनी १२ वर्षका लागि जेल परेका थिए। जेलबाट छुटेपछि उनले सेन्ट पिटर्सबर्गमा रेस्टुरेन्ट व्यवसाय थालेका थिए।
रेस्टुरेन्ट व्यवसायी भएकैले त्यति वेला सेन्ट पिटर्सबर्गका उपप्रमुख रहेका भ्लादिमिर पुटिनसँग उनको सम्पर्क भयो। यो सम्पर्क उपयोग गरेर उनले क्याटरिङ व्यवसाय सञ्चालन गरे। साथै रूसी सरकारका महँगा ठेक्काहरू पाए। यिनै कारणले उनको उपनाम नै ‘पुटिनको भान्छे’ हुन गयो।
पछि उनले आफ्नो व्यवसायको दायरा फराकिलो पारे। जस अन्तर्गत एउटा क्षेत्र मिडिया पनि थियो। सन् २०१६ मा अमेरिकामा राष्ट्रपति निर्वाचन ताका उनले ‘ट्रोल फ्याक्ट्री’ नै चलाएका थिए। गत जनवरीमा पहिलो पटक उनले भाडाका लडाकूको समूह ‘वाग्नर ग्रूप’ खडा गरी नेतृत्व गरेको स्वीकार गरेका थिए।
के हो वाग्नर ग्रूप?
सन् २०१३ सम्म रूसी जासूसी संस्थामा कार्यरत दिमित्री उत्किनले यो लडाकू दस्ता खडा गरेका हुन्। अप्रिल २०१४ मा पूर्वी युक्रेनमा पृथक्तावादी द्वन्द्व भड्किएपछि पहिलो पटक वाग्नर समूह देखा परेको थियो। त्यति वेला वाग्नर समूहले पृथक्तावादीलाई सघाउने काम गरेको थियो।
त्यस्तै, सिरियामा बसर अल–असदको सरकारलाई रूसले समर्थन गर्दा पनि वाग्नर समूह परिचालित भएको थियो। लिबियामा यो समूह खालिफा हफ्तरका तर्फबाट लडेको थियो। यो समूह मध्य अफ्रिकी गणतन्त्र र मालीमा पनि सक्रिय रहेको मानिन्छ।
अफ्रिकी देशमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघन गरेको भनी यो लडाकू समूहलाई आरोप लागेको छ। सन् २०१७ मा वाग्नर समूहका सशस्त्र व्यक्तिहरूले एक जना सिरियालीलाई कुटेर हत्या गरी जलाएको भिडिओ सार्वजनिक भएको थियो। सन् २०२१ मा यूरोपेली युनियनले यो समूह ‘मध्य अफ्रिकी गणतन्त्र, लिबिया, सिरिया र युक्रेनमा गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा संलग्न भएको’ ठहर गरेको थियो।
के छ प्रतिक्रिया?
यस दुर्घटनाका सम्बन्धमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै प्रतिक्रिया दिएका छैनन्। युक्रेनका राष्ट्रपति भ्लोदोमेर जेलेन्स्कीले भने प्रिगोजिनको सम्भावित मृत्युसँग केही लिनुदिनु नभएको बताएका छन्। “हामीलाई यसबारे केही लिनुदिनु छैन,” जेलेन्स्कीलाई उद्धृत गर्दै द गार्डियनले लेखेको छ, “यसबारे कसको के सम्बन्ध छ भन्ने सबैलाई थाहा छ।”
विश्लेषकहरूले यस घटना पछाडि पुटिनको हात रहेको अनुमान पनि गरेका छन्। द गार्डियनका अनुसार जर्मनीकी विदेश मन्त्री अन्नालेना बेरबकले यो घटनाले रूसमा हुने ‘अस्पष्ट’ दुर्घटनाहरूको प्रवृत्ति पछ्याएको टिप्पणी गरेकी छन्।
“पुटिनका पूर्व विश्वासपात्र जसले दुई महीनाअघि सैन्य विद्रोहको प्रयत्न गरेका थिए, उनी आकाशबाट झरेपछि एकाएक विश्वको ध्यान नै क्रेमलिनतिर जानु कुनै दुर्घटना होइन,” उनले भनिन्, “पुटिनको रूसमा मृत्यु, सन्दिग्ध आत्महत्या, झ्यालबाट खस्ने जस्ता अस्पष्ट घटनाहरू भइरहने गरेको हामीलाई थाहा छ। यसले हिंसाको जगमा बनेको निरङ्कुश शक्ति संरचनालाई दर्शाउँछ।”
यो घटनापछि वाग्नर समूह पुटिनको प्रत्यक्ष नियन्त्रणमा आउने र झनै खतरनाक रहने अनुमान पोल्यान्डका प्रधानमन्त्री मटेउज मरुभेस्कीको रहेको द गार्डियनले उल्लेख गरेको छ।
(अलजजिरा, बीबीसी र द गार्डियनको सहयोगमा)