५० करोडको शेयर १२० रुपैयाँमा बेचेर फर्कियो सिंगापुरको कम्पनी
जलविद्युत् आयोजना अनिश्चित भएसँगै करोडौं रुपैयाँको शेयर कौडीको भाउमा बेचेर सिंगापुरको कम्पनी फर्किएको छ।
सिंगापुरको एक कम्पनीले नेपालमा झन्डै ५० करोड मूल्यको शेयर १२० रुपैयाँमा बेचेर फर्किएको छ। सिंगापुरस्थित इन्फ्राको एशिया हिमालयन हाइड्रो पीटीई लिमिटेडले नेपालको गुराँस इनर्जी लिमिटेडमा रहेको ४९ लाख ७९ हजार ७५४ कित्ता शेयर कौडीको भाउमा बिक्री गरेको हो। उक्त शेयरको अङ्कित मूल्य प्रतिकित्ता १०० रुपैयाँ छ।
एशियासँग इन्फ्राको शेयर जम्मा १२० रुपैयाँमा किन्ने कम्पनी बुटवल पावर कम्पनी लिमिटेड हो। यो कम्पनीमा पञ्चकन्या समूहका प्रदीपकुमार श्रेष्ठ, ज्योति समूहका पद्मज्योति लगायत व्यवसायीको शेयर लगानी छ। यसमा नेपाल सरकाको पनि ७.४२ प्रतिशत लगानी छ।
उद्योग विभागले गत चैतमा यो शेयर किनबेचको अनुमति दिएको थियो। बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले कम्पनी रजिष्ट्रार कार्यालयबाट शेयर हस्तान्तरणको प्रक्रिया सम्पन्न भइसकेको पुष्टि गरे। सीईओ श्रेष्ठले भने, “पछिल्ला तीन वर्षदेखि यसको प्रक्रिया चलिरहेको थियो। इन्फ्राको एशियाको शेयर बुटवल पावरमा हस्तान्तरणको प्रक्रिया अहिले सकिएको छ।”
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत शेयर किनबेच प्रक्रिया अघि बढाउन खोजिए पनि त्यो विवादित हुन पुगेको थियो। नेप्सेले यो शेयर किनबेच शङ्कास्पद रहेको भन्दै रोकिदिएको थियो। नेप्सेका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा हिमालखबरसँगको कुराकानीमा झन्डै ५० करोड मूल्यको शेयर रु.१२० मा किनबेच हुन लागेपछि शङ्कास्पद मानेर प्रक्रिया रोकिदिएको बताए। “कसैले ५० करोडको शेयर १२० रुपैयाँमा छोडेर किन जान लागेको हो भन्नेमा शङ्का लागेर थप बुझ्नुपर्छ भनेका थियौं,” ती अधिकारीले भने।
नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले गुराँस इनर्जी लिमिटेडको शेयर किनबेचका लागि ओटीसी मार्केटमा आएको जानकारी आफूलाई भए पनि कारोबार भयो वा भएन भन्ने विषयमा थाहा नभएको बताए।
बुटवल पावर कम्पनीका सीईओ श्रेष्ठले भने कम्पनी रजिष्ट्रार मार्फत शेयर हस्तान्तरण भइसकेको बताए। “ओटीसी मार्केटमा कारोबार नभए पनि हुने देखिएकाले सीधै कम्पनी मार्फत कारोबार गरिएको हो,” उनले भने।
ओटीसी बजार सञ्चालन विनियमावली, २०६५ ले दोस्रो बजारमा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनी र सार्वजनिक संस्थाले निष्कासन गरेका धितोपत्रको कारोबार ओटीसी मार्केट मार्फत हुन सक्ने उल्लेख गरेको छ। नेप्सेका ती अधिकारीले विनियमावली अनुसार ओटीसीलाई छलेर कम्पनी मार्फत मात्रै कारोबार गर्नु उपयुक्त नभएको बताए।
गुराँस इनर्जी लिमिटेडको सञ्चालक समितिले १४ अक्टोबर २०२२ मा शेयर किनबेच सम्बन्धी निर्णय अनुमोदन गरेको थियो। इन्फ्राको एशियाले पनि १८ अक्टोबर २०२२ मा सञ्चालक समितिबाट शेयर बिक्रीको निर्णय गरेको थियो। ८ नोभेम्बर २०२२ मा इन्फ्राको एशिया र बुटवल पावर कम्पनीबीच शेयर हस्तान्तरणको सम्झौतामा हस्ताक्षर भएको थियो।
गुराँस इनर्जी लिमिटेड निर्माणाधीन काबेली ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीमध्येको एक हो। गुराँस इनर्जीमा ६० प्रतिशत शेयर स्वामित्व इन्फ्राको एशियाको र ४० प्रतिशत शेयर स्वामित्व बुटवल पावर कम्पनीको थियो। इन्फ्राको एशियाको शेयर बुटवल पावरको नाममा हस्तान्तरण भएपछि अब गुराँस इनर्जीको शतप्रतिशत स्वामित्व बुटवल पावर कम्पनीको भएको छ।
करोडौं रुपैयाँको शेयर कौडीको भाउमा बेचेर सिंगापुरको कम्पनी किन हिंड्यो?
बुटवल पावर कम्पनीका सीईओ श्रेष्ठले काबेली ‘ए’ जलविद्युत् आयोजना अनिश्चयमा परेपछि इन्फ्राको एशियाले हात झिकेको बताए। उनले भने, “हामी आयोजना अघि बढाउन चाहने, तर उनीहरू (इन्फ्राको एशिया) बन्द गर्न चाहने परिस्थिति थियो। आयोजनाको भविष्य अन्योलमा परेपछि उनीहरूले छोडेका हुन्।”
इन्फ्राको एशिया निजी पूर्वाधार विकास समूह अन्तर्गतको लगानी गर्ने संस्था हो। निजी पूर्वाधार विकास समूहमा बेलायत, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड र अस्ट्रेलिया सरकारको लगानी छ। सन् २०१० मा स्थापना भएको इन्फ्राको एशियाले इन्डोनेशिया, कम्बोडिया, भियतनाम, पाकिस्तान, भारत लगायत देशमा लगानी गरिरहेको छ। इन्फ्राको एशियाले गुराँस इनर्जीमा सन् २०१२ पछि साझेदारी शुरू गरेको हो।
बुटवल पावर कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय प्रतिवेदन अनुसार गुराँस इनर्जीको लगानी रहेको काबेली इनर्जी लिमिटेडको प्रतिकित्ता किताबी मूल्य ७३ रुपैयाँ ९३ पैसा छ। अर्थात् कम्पनीको दायित्व घटाउँदा पनि प्रतिकित्ता शेयरको मूल्य यति पर्न आउँछ। यसैलाई आधार बनाउने हो भने पनि इन्फ्राको एशियाको शेयरको मूल्य ३६ करोड ८१ लाख रुपैयाँ हुन्छ। तर, कम्पनीले १२० रुपैयाँमै आफ्नो शेयरलाई बुटवल पावर कम्पनीलाई बिक्री गरिदिएको हो।
पाँचथर र ताप्लेजुङको सीमामा बग्ने काबेली नदीमा ३७.६ मेगावाटको काबेली ‘ए’ आयोजना निर्माणका लागि २०७३ चैतमा शिलान्यास गरिएको थियो। १० करोड २६ लाख अमेरिकी डलर (अहिलेको मूल्यमा १३ अर्ब ४४ करोड रुपैयाँ) लागतको यो आयोजनामा विश्व ब्यांकले जलविद्युत् लगानी तथा विकास कम्पनी मार्फत चार करोड अमेरिकी डलर (करीब पाँच अर्ब २४ करोड रुपैयाँ) ऋण लगानी गर्न सहमति जनाएको थियो।
यसमध्ये ९७ लाख ९२ हजार अमेरिकी डलर (करीब एक अर्ब २८ करोड रुपैयाँ) ऋण लगानी भएको थियो। तर, विश्व ब्यांकले यो आयोजनामा थप लगानी गर्न नसक्ने भन्दै हात झिकिसकेको छ। जसकारण यो आयोजनाको काम बीचैमा अलपत्र परेको छ। “आयोजनाको भविष्य अन्योलमा परेका कारण नै इन्फ्राको एशिया फर्किएको हो,” सीईओ श्रेष्ठले भने। उनले फर्किनुअघि यो कम्पनीले ऋण बापतको दायित्व समेत चुकाएको बताए।
आयोजनाका लागि २४ किलोमिटर पहुँच मार्ग निर्माण भएको छ भने आयोजनाका लागि जग्गा खरीद र व्यवस्थापन प्रक्रिया पनि सकिएको छ। त्यसैगरी, पहुँच सुरुङमार्ग तथा ४.५ किलोमिटरको हेडरेस सुरुङमध्ये एक किलोमिटरको निर्माण सकिएको छ। त्यसैगरी, बाँधस्थलको प्रारम्भिक काम पनि सकिएको कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
विश्व ब्यांकले नेपाल सरकारलाई चार करोड अमेरिकी डलर सहुलियत दरमा ऋण दिने र सो ऋण रकम नेपाल सरकारले काबेली ‘ए’ आयोजनाको प्रवर्द्धकलाई उपलब्ध गराउने शर्त अनुसार यो आयोजनाको प्रस्ताव अघि बढेको थियो। जस अनुसार यो सहुलियत दरको ऋण पाउने कम्पनी छान्न नेपाल सरकारले प्रतिस्पर्धा गराएर बुटवल पावर कम्पनीलाई २०६६ सालमा यो आयोजना विकास गर्ने जिम्मा दिएको थियो। सरकारले विद्युत् महशुलका आधारमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत काबेली ए आयोजनाको प्रवद्र्धक छनोट गरेको थियो । सस्तोमा बिजुली दिने प्रस्ताव गर्ने बुटवल पावरको सहायक कम्पनीले आयोजना पाएको थियो । यो आयोजना अघि बढाउन काबेली इनर्जी लिमिटेड कम्पनी खडा गरिएको थियो, जसमा गुराँस इनर्जी लिमिटेडले पनि साझेदारी गरेको थियो।
विश्व ब्यांकले हात झिकेसँगै सन् २०२० देखि यो आयोजना अलपत्र स्थितिमा छ। त्यस बाहेक ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना निर्माण भएमा काबेली ‘ए’ डुबानमा पर्ने भएकाले पनि निर्माणमा अन्योल भएको बुटवल पावर कम्पनीका सीईओ श्रेष्ठले बताए। आयोजना अनिश्चित भएसँगै बुटवल पावर कम्पनीले काबेली ‘ए’ मा लगानी प्रोभिजनिङ (नोक्सानी व्यवस्था) गरिसकेको छ। श्रेष्ठले अब छिटै आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गरेर नयाँ तरीकाले अघि बढ्ने प्रयास भइरहेको बताए।
बुटवल पावर कम्पनी सम्बद्ध एक स्रोतले भने यो आयोजना निर्माणका लागि जलविद्युत् लगानीकर्ता गुरुप्रसाद न्यौपानेले प्रवर्द्धन गरेको अरुण काबेली जलविद्युत् कम्पनीले साझेदारी गर्ने विषयमा छलफल अघि बढेको छ। तर, शेयर किनबेच कुन मूल्यमा हुन्छ भन्ने प्रस्ट छैन। उद्योग विभागले भने २०७९ चैत १० मा दिएको शेयर स्वामित्व हस्तान्तरणको सहमतिमा पछि यो शेयर बिक्री हुँदा १२० रुपैयाँभन्दा बढी मूल्यमा बिक्री भएमा त्यसको आधारमा पूँजीगत लाभकर तिनुपर्ने उल्लेख छ।