नेपाल सुन तस्करीको ‘ट्रान्जिट पोइन्ट’ बनेको छ: डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल सुन तस्करीको ‘ट्रान्जिट पोइन्ट’ बनेको र यसले देशको छवि बिग्रेको बताएका छन्।
जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले सुन तस्करीका कारण नेपालको छवि धूमिल भएको बताए। “नेपाल सुन तस्करीको ट्रान्जिट पोइन्ट बनेको छ,” कोइरालाले भने।
भारतमा टनका टन सुन खपत हुने र त्यसको आपूर्तिका लागि नेपाली भूभाग प्रयोग भइरहेको उनको भनाइ थियो। “सुन काण्डलाई तपाईंहरूले कसरी लिनुभएको छ, थाहा छैन तर मैले यसलाई अन्तर्राष्ट्रिय अखडा बनेको रूपमा लिएको छु।”
नेपालले सुन तस्करीको छानबिन गर्न सक्नेमा पनि उनले शङ्का गरे। “सुन तस्करीमा चीन, भारत सहित अनेक शक्तिशाली राष्ट्रको संलग्नता हुन सक्ने भएकाले त्यसको छानबिन गर्ने हैसियत हुन्छ कि हुँदैन,” कोइरालाले प्रश्न गरे।
नक्कली भूटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणले सरकारको साख पनि गिराएको उनको भनाइ थियो। “जुन प्रकारले अहिले प्रहरी, अध्यागमन विभागका महानिर्देशक, विभिन्न निकायका प्रमुखलाई सरुवा गरियो, त्यसले के लाग्छ भने राजनीतिक रूपमा आपराधिक काण्डलाई सरकारले चिर्न चाहिरहेको छैन,” कोइरालाले भने।
सरकारमा कांग्रेसको सहभागिताका विषयमा सोधिएको प्रश्नमा भने उनले अहिले मूल्याङ्कन गर्ने वेला नभएको बताए। “कांग्रेस सरकारमा सहभागी भएको धेरै भएको छैन। तर, पहिलो गासमै ढुङ्गा जस्तो अहिलेको काण्डहरूले कतै त कतै कमजोरी भएको देखिन्छ,” उनले भने।