विमान दुर्घटनामा परी वाग्नर समूहका प्रमुख प्रिगोजिनको मृत्यु भएको दाबी
दुई महीनाअघि रूसमा सैन्य विद्रोह गर्ने वाग्नर समूहका प्रमुख प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको दाबी गरिएको छ।
रूसमा भएको विमान दुर्घटनामा परी वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको मृत्यु भएको दाबी गरिएको छ। बुधबार तीन चालक दलका सदस्य सहित १० जना सवार विमान रूसको कुजेनकिनो गाउँ नजिकै दुर्घटना भएको थियो।
यद्यपि उनको मृत्युबारे स्पष्ट जानकारी भने पाइएको छैन। रूसको उड्डयन प्राधिकरणले प्रिगोजिनको नाम पनि दुर्घटनाग्रस्त विमानको यात्रुसूचीमा रहेको भनी दिएको जानकारीका आधारमा प्रिगोजिनको मृत्यु भएको दाबी गरिएको हो। यस्तै, वाग्नरका सैन्य प्रमुख तथा सहसंस्थापक डिमित्री उत्किन पनि उक्त विमानमा सवार भएको बताइएको छ।
विमान मस्कोबाट सेन्ट पिटर्सबर्गतर्फ उडेको थियो। हाल विमानमा सवार १० जनाकै शव फेला पारिसकेको रूसले जनाएको छ।
वाग्नर समूहसँग सम्बन्धित टेलिग्राम च्यानल ‘ग्रेज जोन’ ले प्रिगोजिनको मृत्युको पुष्टि गरेको छ। प्रिगोजिनलाई राष्ट्रवादी भन्दै उनी रूसका देशद्रोहीहरूको हातबाट मारिएको उल्लेख गरेको छ।
भरपर्दो सूचनाको अभावमा प्रिगोजिनको मृत्युलाई धेरैले धेरै कोणबाट विवेचना गरिरहेका छन्। रोयटर्सका अनुसार प्रिगोजिनका केही समर्थकले रूसी सरकारलाई दोष दिइरहेका छन् भने केहीले चाहिं युक्रेनको हात हुन सक्ने आशङ्का गरेका छन्। युक्रेनले आज (२४ अगस्ट) आफ्नो स्वतन्त्रता दिवस मनाउँदै छ।
सन् २०१४ मा स्थापना भएको वाग्नर समूहलाई रूसले भाडाको सेनाका रूपमा प्रयोग गर्दै आएको थियो। युक्रेन विरुद्धको युद्धमा वाग्नर समूहले रूसका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। तर, गत जून २३-२४ मा वाग्नर समूहले रूसमा विद्रोह गरेको थियो र मस्को कब्जा गर्न र रूसी सरकारको नेतृत्वलाई नै अपदस्थ गर्न अघि बढेको थियो।
यद्यपि बेलारूसका राष्ट्रपति एलेक्जान्डर लुकाशेन्कोले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेपछि प्रिगोजिन रोकिएका थिए। प्रिगोजिन पनि बेलारूस निर्वासनमा जान राजी भएका थिए।
-एजेन्सीहरूको सहयोगमा