पेनाल्टी शूटआउटमा जित हात पार्दै इन्टर मियामी यूएस ओपन कपको फाइनलमा
एमएलएसको सबैभन्दा पुछारमा रहेको टोली मियामीले शीर्ष स्थानमा रहेको सिनसिनाटीलाई हराउँदै यूएस ओपन कपको फाइनलमा स्थान बनाएको छ।
यूएस ओपन कप अन्तर्गत केही बेरअघि सम्पन्न सेमिफाइनल खेलमा इन्टर मियामी विजयी भएको छ। पेनाल्टी शूटआउटमा एफसी सिनसिनाटीलाई हराउँदै मियामी प्रतियोगिताको फाइनलमा पुगेको हो।
खेलमा कुनै समय मियामी २-० गोल अन्तरले पछि परेको थियो। तर, दोस्रो हाफको इन्जुरी समयमा मियामीले बराबरी २-२ गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको पहिलो हाफमा मियामीले ३-२ को अग्रता समेत बनाएको थियो। दोस्रो हाफमा भने सिनसिनाटीले तेस्रो गोल गरेपछि खेल पेनाल्टी शूटआउटमा पुगेको थियो। पेनाल्टीमा मियामी ५-४ गोलअन्तरले विजयी भएको हो।
खेलमा मियामीका लागि लियोनार्डो कम्पानाले ६८औं मिनेट र ९०+७ मिनेटमा गोल गरे। इन्जुरी समयको अन्तिम क्षणमा मियामीका कप्तान लियोनल मेस्सीको उत्कृष्ट असिस्टमा कम्पानाले गोल गरेका थिए। यो गोलले नै खेललाई अतिरिक्त समयमा पुर्याएको थियो। यसपछि जोसेफ मार्टिनेजले अतिरिक्त समयको ९३औं मिनेटमा गोल गरेका थिए।
यस्तै, सिनसिनाटीका लागि लुसिआनो अकोस्टाले १८औं मिनेटमा, ब्रान्डोन भाजक्वेजले ५३औं मिनेटमा र युया कुबोले ११४ मिनेटमा गोल गरे।
मेजर लिग सकर (एमएलएस)का टोलीलाई इस्टर्न र वेस्टर्न कन्फरेन्स भनेर दुई भागमा विभाजन गरिएको छ। जसमा इस्टर्न कन्फरेन्समा सिनसिनाटी शीर्ष स्थानको टोली हो। मियामी भने सबैभन्दा पुछारमा रहेको टोली हो।
योसँगै इन्टर मियामी लगातार दोस्रो पटक फाइनलमा पुग्ने टोली बनेको छ। यसअघि आइतबार सम्पन्न लिग्स कपको फाइनलमा मियामीले पेनाल्टी शूटआउट मार्फत नै न्याशभिललाई हराउँदै उपाधि जितेको थियो।
यूएस ओपन कपको फाइनलमा भने ह्युस्टन डाइनामो र रियल सल्ट लेकबीचको विजेतासँग मियामीले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। यी दुई टोलीबीचको खेल अहिले जारी छ।