एन्फाले आयोजना गर्ने प्रतियोगिता नखेल्ने ३२ क्लबको चेतावनी
डिभिजन लिग प्रतियोगिताको तयारी खर्च भुक्तानी नगरिएको भन्दै ३२ वटा क्लबले अखिल नेपाल फूटबल संघ (एन्फा)ले आयोजना गर्ने प्रतियोगता नखेल्ने चेतावनी दिएका छन्।
बुधबार ३२ वटा क्लबले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ज्ञापनपत्र पत्र बुझाएका छन्। ज्ञापनपत्रमा एन्फाले आयोजना गरेको शहीद स्मारक लिग अन्तर्गत ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग प्रतियोगिताको तयारी खर्च लामो समयदेखि नपाएको जनाएका छन्। यसको भुक्तानीका लागि एन्फा महासचिवसँग पटक पटक आग्रह र पत्राचार गर्दा पनि वास्ता नगरिएको क्लबले जनाएका छन्।
‘यस सम्बन्धमा एन्फा जिम्मेवार नदेखिएकाले अविलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न पुनः ध्यानाकर्षण गर्दछौं,’ पत्रमा भनिएको छ, ‘यस विषयमा एन्फा गम्भीर भई क्लबहरू समक्ष प्रतिबद्धता नजनाइए एन्फाबाट सञ्चालन हुने कुनै पनि प्रतियोगितामा सहभागी नहुने समेत जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका छौं।’
यस्तै, क्लबहरूले एन्फाको विशेष साधारणसभा भौतिक उपस्थितिमा हुने व्यवस्था गर्न पनि माग गरेका छन्। अहिले कुनै महामारी नभएकाले भौतिक उपस्थितिमै विशेष साधारणसभा गर्नुपर्ने उनीहरूको भनाइ छ।