त्रिशूली बस दुर्घटनामा ज्यान गुमाएका चार यात्रुको सनाखत
त्रिशूलीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका आठमध्ये चार यात्रुको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार दुर्घटनामा म्याग्दीको रघुगङ्गा-३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी-१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी-८ का २० वर्षीय सुशील रम्तेल र कास्कीको फुलबारी-११ का २४ वर्षीय सुमन थापाको ज्यान गएको छ।
दुर्घटनामा ज्यान गुमाएका अन्य चार जनाको सनाखत हुन बाँकी छ। सनाखत हुन नसकेका मृतकमध्ये एक जना महिला र तीन जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराबाट त्रिशूलीमा खसेको थियो।
सहचालक रोशन तामाङका बसमा २६ जना रहेका थिए। बस काउन्टरबाट १९ जनाले र ‘इ सेवा’बाट दुई जनाले टिकट काटेका थिए। त्यस्तै, कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेको सहचालक तामाङले बताए। उनी सकुशल रहेका छन्।
प्रहरी उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा १७ जना घाइते छन्। १३ जनाको उपचारका लागि काठमाडौं पठाइएको छ। एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ। सहचालक तामाङ र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य घाइते भएका छन्।
बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ। घाइतेको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए।
विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ‘ओभर्टेग’ गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ।