अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा नेपालको लगातार दोस्रो जित
चार देश सम्मिलित टी-२० महिला अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
मलेशियामा जारी शृङ्खलाको दोस्रो खेलमा नेपालले बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको हो। नेपालले दिएको ९० रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले आठ विकेटको क्षतिमा ५५ रन मात्रै बनाउन सक्यो।
कुवेतका लागि जीफा जिलानीले ११ र खादिजा खालीले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।
नेपालका लागि इन्दु बर्माले तीन र खुशी डंगोलले दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा ८९ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले २३ र बिन्दु रावलले २० रन बनाएका थिए।
नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो। अर्को खेलमा भदौ ८ गते मलेशियासँग प्रतिस्पर्धा गर्नेछ।
आईसीसी टी-२० विश्वकपको एशिया छनोट प्रतियोगिताको तयारीका क्रममा नेपाल मलेशियामा चतुर्देशीय प्रतियोगिता खेलिरहेको छ।